काठमाडौँ। फिफा विश्वकपको फाइनलमा आज राति स्पेन र अर्जेन्टिना भिड्दै छन्। अमेरिकाको न्युजर्सीस्थित इस्ट रथरफोर्डमा रहेको न्युयोर्क न्युजर्सी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार आइतबार राति १२ः४५ बजे हुँदै छ।
दुई देशको उपाधि भिडन्तलाई विश्व नम्बर १ र विश्व नम्बर २ बीचको घमासान प्रतिस्पर्धाको रुपमा प्रतीक्षा गरिएको छ।
अर्जेन्टिना साबिक विजेता पनि हो भने स्पेनले १६ वर्षदेखि विश्वकप उचाल्न सकेको छैन। स्पेन सन् २०१० को विश्वविजेता हो।
त्यसो त अर्जेन्टिनाले पनि ३६ वर्षपछि अर्को विश्वकप उचालेको थियो सन् २०२२ मा। हालसम्म अर्जेन्टिनाले तीनपटक विश्वकप जितेको छ। पहिलो पटक सन् १९७८ मा विश्वकप जितेको अर्जेन्टिनी टोलीले सन् १९८६ मा दोस्रो र सन् २०२२ मा तेस्रो पटक उपाधि जितेको थियो।
यो विश्वकप जित्न सके उसले आफ्नो राष्ट्रिय जर्सीमा चार तारा चम्काउन पाउनेछ।
त्यसकारण आज हुने खेललाई १६ वर्षदेखिको उपाधि भोक मेट्ने र साबिक विजेताको छवि जोगाउनेबीचको रोचक भिडन्त मानिएको छ।




