कैलाली। नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरी ले सुदूरपश्चिम प्रदेशका ५ सांसद आफूहरूको पक्षमा रहेको दाबी गरेका छन्। कैलालीको धनगढीमा पत्रकारहरूसँगको भेटघाटमा उनले तीमध्ये २ सांसदले पद गए पनि साथ नछोड्ने बताइसकेको उल्लेख गरे।
साबिक नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट प्रदेशसभामा ७ सांसद रहेका छन्। नेकपासँग एकता भएपछि उनीहरूलाई नेकपाकै सांसदको सूचीमा राखिएको छ। तर, रेशम चौधरीले ७ मध्ये ५ सांसद अहिले पनि एकताको विपक्षमा रहेको र आफूहरूसँगै रहेको दाबी गरे।
उनले लुम्बिनी प्रदेशका ३ र मधेश प्रदेशका १ सांसद पनि आफूहरूको पक्षमा रहेको बताए।
‘सुदूरपश्चिममा ५, लुम्बिनीमा ३ र मधेश प्रदेशमा १ सांसद हामीसँगै हुनुहुन्छ। अधिकांश स्थानीय तहका जनप्रतिनिधि पनि साथमै हुनुहुन्छ,’ उनले भने, ‘सुदूरपश्चिमका ५ मध्ये २ सांसदले त पद नै गए पनि साथ नछोड्ने बताउनुभएको छ। ’
पूर्वमन्त्री रामेश्वर चौधरी, घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, इन्दिरा गिरी र टिक थापा को नाम उल्लेख गर्दै उनले उनीहरू आफूहरूसँग रहेको दाबी गरे।
तर, पूर्वमन्त्री खुशीराम चौधरी र कैलाश चौधरी बारे भने उनले कुनै दाबी गरेनन्।
सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनको विषयमा पनि रेशम चौधरीले केही बेरअघि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवाद भएको बताए।
‘प्रचण्ड जीले फोन गर्नुभएको थियो। हामी सुदूरपश्चिममा ५ जना छौँ, हामीले केही गर्न सक्दैनौँ भनेको छु ’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा अहिलेको अवस्थामा सरकार नचलाएकै राम्रो हुन्छ।’

