सुर्खेत। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जाजरकोटको जुनिचाँदे गाउँपालिका सभापति पदमा युवा नेता कृतिनिधि बस्नेतले उम्मेदवारी घोषणा गरेका हुन्।
गाउँपालिकाभीत्र लामो समयदेखि संगठन विस्तार, सामाजिक सेवा तथा युवालाई राजनीतिक रूपमा सशक्त बनाउने अभियानमा सक्रिय रहँदै आएका उम्मेदवारले पार्टीभित्र नयाँ ऊर्जा, पारदर्शी नेतृत्व र आधुनिक संगठनात्मक व्यवस्थापन आवश्यक रहेको भन्दै सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै उनले नेपाली कांग्रेसको विचार, सिद्धान्त तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै गाउँपालिकामा पार्टी संगठनलाई थप बलियो, व्यवस्थित र चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले नेता तथा कार्यकर्ताबीच एकता, सहकार्य र आपसी सद्भाव कायम गर्ने, युवालाई पार्टी संगठनमा प्रोत्साहन गर्दै नेतृत्व विकास र राजनीतिक सशक्तीकरणमा जोड दिने बताए।
साथै अग्रज तथा ज्येष्ठ नेताहरूको अनुभव, योगदान र भूमिकालाई सम्मान गर्दै वडा तहसम्म संगठनलाई सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
कार्यकर्ताका भावना तथा समस्या सुन्दै सबैलाई समेट्ने समावेशी नेतृत्व स्थापित गर्ने, पार्टीभित्र पारदर्शिता, जवाफदेहिता र अनुशासनलाई प्राथमिकता दिने उनको भनाइ छ।
संगठन विस्तारसँगै जनतासँग प्रत्यक्ष जोडिएर सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने तथा भाषण र आश्वासनमा मात्र सीमित नभई परिणाममुखी कार्यशैलीमार्फत काम गरेर देखाउने उनले बताएका छन्।
`नेपाली कांग्रेसको विचार, सिद्धान्त र लोकतान्त्रिक अभ्यासलाई जोगाउँदै संगठनलाई थप सबल, एकताबद्ध र जनमुखी बनाउन मेरो उम्मेदवारी हो,´ उम्मेदवारी घोषणा गर्दै उनले भने।
उनले संगठनभित्र सहकार्य, एकता र परिणाममुखी कार्यशैलीलाई मुख्य आधार बनाएर अघि बढ्ने बताउँदै १५औँ महाधिवेशन सफल र अनुशासित बनाउन गाउँपालिकाका सम्पूर्ण नेता तथा कार्यकर्ताको साथ र समर्थनका लागि आग्रह गरेका छन्।

