२०८३ असार १, सोमबार

वीरेन्द्रनगर। मध्यपश्चिम विश्वविद्यालयले आफ्नो चौथो दीक्षान्त समारोह (असार ३) गते बुधबार आयोजना गर्ने भएको छ।

विश्वविद्यालयले सोमबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै दीक्षान्त समारोह तथा विश्वविद्यालय सभासम्बन्धी जानकारी दिएको हो।

२०६७ असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयले छोटो अवधिमै शैक्षिक तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

हाल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा रहेको छ भने विभिन्न संकाय तथा स्नातकदेखि विद्यावारिधिसम्मका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

विश्वविद्यालयका अनुसार चौथो दीक्षान्त समारोहमा विभिन्न ग्य्राजुएट स्कुलअन्तर्गतका स्नातक, स्नातकोत्तर तथा दर्शनाचार्य तहका गरी १ हजार ९२८ जना विद्यार्थी दीक्षित हुनेछन्। तीमध्ये १ हजार २२२ जना स्नातक, ६९४ जना स्नातकोत्तर तथा १२ जना दर्शनाचार्य तहका विद्यार्थी रहेका छन्।

दीक्षान्त समारोहमा शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई विभिन्न पदक तथा सम्मान पनि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका अनुसार स्नातकोत्तर तथा स्नातक तहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति, उपकुलपति पदक प्रदान गरिनेछ। साथै विभिन्न ग्राजुएट स्कुलबाट स्नातकोत्तर तहका लागि डीन लिष्टमा परेका ५ जना र स्नातक तहबाट ७ जना विद्यार्थीहरुले प्रमाणपत्र सहित पदक पाउने छन्।

समारोह बुधबार बिहान १० बजे विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानी सुर्खेतमा आयोजना हुनेछ।

कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् केदारभक्त माथेमाकोको प्रमुख आतिथ्यता रहने विश्वाविद्यालयले जनाएको छ।