२०८३ श्रावण ३, आईतवार

काठमाडौँ। कतिपय प्रदेशहरूमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन तोडिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तानातानमा परेको छ।

पुरानो गठबन्धन तोडिएपछि नेकपासँग सहकार्य गर्न कांग्रेस र एमालेले प्रस्ताव गरे पनि सकेसम्म सरकारमा सहभागी नहुने नेकपाको रणनीति रहेको नेताहरूले बताएका छन्।

उनीहरूका अनुसार नेकपा सत्ताका लागि मरिहत्ते गर्नेवाला छैन, तर सरकार नै नबन्ने र प्रदेश संरचना नै अप्ठ्यारोमा पर्ने अवस्थामा भने मिलेर अघि बढ्ने पक्षमा रहेको छ। यसबारे नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै पक्षका नेताहरूसँग संवाद गर्ने सो पार्टीका नेताहरूको भनाइ छ। प्रचण्ड आइतबार मात्रै श्रीलंकाको भ्रमण सकेर काठमाडौँ फर्केका छन्।

सोमबारदेखि प्रचण्डले छलफल थाल्ने नेताहरूको भनाइ छ। ‘हाम्रो पार्टी संयोजकज्यू श्रीलंका भ्रमणबाट आइतबार काठमाडौँ आइपुग्नुभएको छ। उहाँले अब पहिला पार्टीभित्र छलफल गरेर अन्य पार्टीसँग कुरा गर्नुहुनेछ,’ नेकपा प्रवक्ता प्रकाश ज्वालाले भने, ‘अब तीव्र रूपमा छलफल अघि बढ्छ। सम्भवतः सोमबार दुई नेताबिच छलफल होला।’

ज्वालाका अनुसार प्रचण्डले पहिला सहसंयोजक माधवकुमार नेपालसँग छलफल गरेपछि मात्रै अन्य पार्टीका नेताहरूसँग कुराकानी गर्नेछन्।

‘पहिला त संयोजक र सहसंयोजकबिच कुराकानी हुन्छ, त्यसपछि आवश्यक परे अन्य पार्टीका नेताहरूसँग छलफल होला,’ ज्वालाले भने, ‘सुदूरपश्चिमको हकमा दुवै पार्टी हामीप्रति लचिलो पनि देखिन्छन् र ठूलो पार्टीको हैसियतमा अरूले सरकारको नेतृत्व नगर्ने हो भने हामी पछि हट्ने कुरा आउँदैन।’

यद्यपि, उनले औपचारिक रूपमा पार्टीले यसबारे निर्णय गर्न बाँकी रहेको बताए। साथै, उनले सामान्यतया मुख्यमन्त्री वा मन्त्रीका लागि नेकपाले जोडबल गर्ने नीति नरहेको भन्दै सत्ता गठबन्धनका दुई दलबीचको कन्फ्रन्टेसन आएकाले मूकदर्शक बनेर बस्ने अवस्था नआउने बताए।

‘सकेसम्म प्रदेश सरकारमा जाने धेरै ठूलो जोडबल हुँदैन, तर परिस्थितिले जिम्मेवारी लिनुपर्ने भए पनि तीनवटै पार्टी मिल्नुपर्छ भन्ने हो,’ ज्वालाले भने, ‘हिजो संविधान निर्माण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि योगदान गरेका दलहरू मिलेर एउटा सन्देश दिनुपर्छ भन्ने हाम्रो मत छ।’

ज्वालाले यसो भने पनि नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशहरूमा प्रतिपक्षविहीन बनाउन नहुने भन्दै तीनवटै दल सरकारमा जानु उचित नहुने अभिव्यक्ति दिँदै आएका छन्।