२०८३ श्रावण १६, शनिबार

वीरेन्द्रनगर। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दोस्रो राष्ट्रिय कोदो दिवस–२०८३ विविध कार्यक्रमसहित मनाइएको छ। ‘कोदोजन्य बालीको संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षाको संवर्द्धन’ भन्ने मूल नारासहित दिवस आयोजना गरिएको हो।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको नेतृत्व तथा विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा वीरेन्द्रनगर नगरपालिका–६ स्थित बुलबुले कृषि हाट बजारमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव संजीवकुमार कर्णले कर्णालीको खाद्य तथा पोषण सुरक्षालाई सुदृढ बनाउन कोदो खेतीको संरक्षण र विस्तार आवश्यक रहेको बताए।

उनका अनुसार कोदो मौलिक पहिचानसँगै औषधीय गुणले भरिपूर्ण बाली भएकाले यसलाई गरिबको खाद्यान्नका रूपमा मात्र बुझ्ने सोच परिवर्तन गर्नुपर्ने समय आएको छ।

साथै, कर्णालीलाई प्राङ्गारिक प्रदेशका रूपमा विकास गर्ने सरकारी अभियानमा यस्ता कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

मन्त्रालयकी बाली विकास अधिकृत विमलाकुमारी खनालले दिवसको अवसरमा आयोजित प्रदर्शनीमा कोदोबाट तयार गरिएका २० भन्दा बढी पौष्टिक तथा स्वादिष्ट परिकार प्रदर्शन गरिएको जानकारी दिइन्।

प्रदर्शनीमा कोदोको सेलरोटी, ढिँडो, मःम, केक, बिस्कुटलगायत परम्परागत र आधुनिक दुवै प्रकारका परिकार राखिएका थिए, जसले आगन्तुकको विशेष आकर्षण बटुलेका थिए।