२०८३ श्रावण २४, आईतवार

वीरेन्द्रनगर। “स्वस्थ जलाधार, समृद्धिको आधार” भन्ने मूल नाराका साथ काक्रेविहारमा विभिन्न प्रजातिका बिरुवा रोपेर ५२औँ भू–संरक्षण दिवस मनाइएको छ।

आइतबार भू तथा जलाधार व्यवस्थापन कार्यालय, सुर्खेतको आयोजनामा सम्पन्न कार्यक्रममा समी, कपूर, किम्बु, बडहरलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको हो।

कार्यक्रमको शुभारम्भ तथा प्रमुख आतिथ्यता कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्णले गरेका थिए।

कार्यक्रममा प्रदेश वन निर्देशक शेरबहादुर श्रेष्ठ, महाशाखा प्रमुख रमेशकुमार गिरी, डिभिजनल वन अधिकृत राधाकृष्ण दासलगायत वन तथा वातावरण क्षेत्रका कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

त्यस्तै, निजी तथा आवासीय विद्यालयहरूको संगठन (प्याब्सन) सुर्खेतका उपाध्यक्ष, प्यारागन आदर्श पब्लिक एकेडेमीका प्रिन्सिपल एवं प्याब्सन वीरेन्द्रनगरका अध्यक्ष पूर्ण भण्डारीलगायत प्यारागन आदर्श पब्लिक एकेडेमीका शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता र सहकार्य रहेको थियो।

कार्यक्रममा सचिव कर्णले जलाधार क्षेत्रको संरक्षण, भू–क्षय न्यूनीकरण तथा वातावरणीय सन्तुलन कायम गर्न वृक्षरोपणको महत्वपूर्ण भूमिका हुने बताए। उनले वन तथा जलाधार संरक्षणमा स्थानीय समुदाय, विद्यालय, विद्यार्थी र सरोकारवाला निकायबीचको सहकार्य आवश्यक रहेकोमा समेत जोड दिए।

कार्यक्रममा सक्रिय सहभागिता एवं सहकार्य गरेकोमा सम्पूर्ण अतिथिहरु तथा प्याब्सन सुर्खेत, प्यारागन आदर्श पब्लिक एकेडेमीका प्रिन्सिपल तथा प्याब्सन वीरेन्द्रनगरका अध्यक्ष पूर्ण भण्डारीलगायत प्यारागन एकेडेमीका विद्यार्थीहरूलाई भू–जलाधार तथा व्यवस्थापन कार्यालय, सुर्खेतका कार्यालय प्रमुख डिभिजनल जलाधार व्यवस्थापन अधिकृत शिखर चपाईले धन्यवाद व्यक्त गरे।

भू–संरक्षण दिवसको अवसरमा गरिएको वृक्षरोपणले काक्रेविहार क्षेत्रको हरियाली प्रवर्द्धनसँगै वातावरण संरक्षण र जलाधार क्षेत्रको दीगो व्यवस्थापनमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।