भदौ ३, २०८३

वीरेन्द्रनगर। कर्णाली प्रदेश सरकारले नवीकरण नभएका तर हाल सञ्चालनमा रहेका खुद्रा विषादी विक्रेताहरूलाई एकपटकका लागि इजाजतपत्र नवीकरण गर्ने विशेष व्यवस्था गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको एकीकृत कृषि प्रयोगशाला, वीरेन्द्रनगर सुर्खेतले बुधबार प्रथम पटक सूचना प्रकाशित गर्दै नवीकरणका लागि सम्बन्धित विक्रेतालाई निवेदन दिन आग्रह गरेको हो।

कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ को नियम ६ (४) बमोजिम नवीकरण नभएका तर हाल सञ्चालनमा रहेका खुद्रा विषादी बिक्रेताहरूका लागि एकपटक नवीकरण गर्ने विशेष व्यवस्था गरिएको कार्यालय प्रमुख परशुराम रावतले जानकारी दिए।

उनका अनुसार नवीकरणका लागि सम्बन्धित विक्रेताले आवश्यक कागजातसहित जिल्लास्थित कृषि विकास कार्यालयमार्फत वा सिधै एकीकृत कृषि प्रयोगशाला, सुर्खेतमा निवेदन दिन सकिनेछ।

निवेदनसँग इजाजतपत्रको सक्कल प्रति, इजाजतपत्र हराएको अवस्थामा प्रमाणित प्रतिलिपि, कारोबारको वार्षिक परिमाण तथा मूल्य विवरण, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने रावतकाे भनाइछ।

त्यस्तै, सम्बन्धित कार्यालयको सिफारिस पत्र, निरीक्षकले गोदाम तथा पसल निरीक्षण गरी अनुसूची–३ अनुसार तयार गरेको चेकलिस्ट र दोब्बर दस्तुरबापत २ हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, सुर्खेतमा रहेकाे राजस्व खातामा जम्मा गरेको भौचरसमेत पेश गर्नुपर्ने छ।