ओहायो, अमेरिका। रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितहरूको उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि सहयोग गर्न अपिल गरिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएसए ओहायो च्याप्टरको संयोजनमा ओहायोमा रहेका विभिन्न नेपाली संघसंस्था तथा समुदायको सहभागितामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए भने विपद्मा परेकाहरूको शीघ्र उद्धार, घाइतेहरूको स्वास्थ्यलाभ तथा प्रभावित परिवारको सुरक्षित पुनर्स्थापनाका लागि प्रार्थना गरेका थिए।

कार्यक्रममा बोल्दै एनआरएनए एनसीसी यूएसए ओहायो च्याप्टरका अध्यक्ष विजय बुढाले विपद्को यस कठिन समयमा तत्काल उद्धारसँगै दीर्घकालीन राहत र पुनर्स्थापनालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले बाढी तथा विपद्मा फसेकाहरूको तत्काल उद्धार, घाइतेहरूको उपचार तथा घरबास गुमाएका परिवारलाई खाद्यान्न, कपडा र अन्य आधारभूत आवश्यकताका सामग्री उपलब्ध गराउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताए।
अध्यक्ष बुढाले विपद्पछिको समस्या केही दिन वा १५–२० दिनमा मात्र समाधान नहुने भन्दै प्रभावित परिवारका लागि दीर्घकालीन राहत, पुनर्निर्माण र पुनर्स्थापनामा निरन्तर सहयोग आवश्यक रहेको बताए।
उनले प्रवासमा रहेका नेपाली तथा सहयोगी मन भएका सबैलाई आफ्नो क्षमताअनुसार आर्थिक तथा मानवीय सहयोग गर्न सार्वजनिक अपिलसमेत गरे।
कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पनि विपद्मा परेका नेपालीहरूको उद्धार तथा राहतका लागि समुदायलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरेका थिए।
कार्यक्रमको सञ्चालन एनआरएनए एनसीसी यूएसए सचिव बिजन भट्ट राईले गरेका थिए। कार्यक्रममा प्रवासी नेपाली मञ्च ओहायो, साहारा फाउन्डेसन ओहायो, अन्तर्राष्ट्रिय साहित्य समाज ओहायो, ग्लोबल पिपल्स अलायन्स, निर्वाणा योगा एन्ड वेलनेस, एभरेस्ट क्लब यूएसए लगायत ओहायोमा सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।

बाढीपीडितका लागि एनआरएनए अमेरिकाले गो फन्ड मी अभियान सञ्चालन गरेको जानकारी दिँदै इच्छुक व्यक्तिहरूले उक्त अभियानमार्फत सहयोग गर्न सक्ने बताइएको छ।
साथै, नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत प्रत्यक्ष सहयोग गर्न सकिने जानकारी कार्यक्रममा दिइएको थियो।
कार्यक्रम तथा बाढीपीडितका लागि सञ्चालित सहयोगसम्बन्धी गतिविधिलाई स्थानीय सञ्चारमाध्यमले समेत समाचारका रूपमा प्रसारण गरेको आयोजकहरूले जानकारी दिएका छन।
भोटेकोशी बाढीबाट प्रभावित नेपालीहरूप्रति ऐक्यबद्धता जनाउँदै ओहायोमा रहेका नेपाली संघसंस्थाहरूले तत्काल उद्धारदेखि दीर्घकालीन राहत, पुनर्निर्माण तथा पुनर्स्थापनासम्म निरन्तर सहयोग आवश्यक रहेकोमा जोड दिएका छन।

