२०८३ भाद्र १, सोमबार

जाजरकोट। जाजरकोटमा कुटपिटबाट गम्भीर घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिका–१०, नुवागाउँमा गत साउन २५ गते राति करिब ९ बजे दैलेखको नारायण नगरपालिका–२ स्थायी घर भई हाल भेरी नगरपालिका–११, जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दिपककुमार थापामाथि कुटपिट भएको थियो।

भेरी नगरपालिका–८ का ३३ वर्षीय बिरेन्द्र खत्रीसहितका व्यक्तिहरूले हातमुक्काले कुटपिट गर्दा थापा घाइते भएका थिए। उनलाई उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित मिशन अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्जस्थित केयर सिटी अस्पताल लगिएको थियो।

उपचारकै क्रममा थापाको साउन २८ गते बिहान करिब १ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले साउन २९ गते पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भेरी नगरपालिका–८ का ३३ वर्षीय बिरेन्द्र खत्री, वडा नं. ९ का २१ वर्षीय निरज रोकाय, २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय बिनोद गोसाई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीर कुमार खड्काले जानकारी दिए।

पक्राउ परेका उनीहरूमाथि जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलोपटक १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।