वीरेन्द्रनगर। प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीले संसद् अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ। बिहीबार दिउँसो १ बजे बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको चौधौँ बैठक नेकपाले अवरुद्ध गरेको हो।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको विषयगत मन्त्रालयमाथि छलफल हुने कार्यसूची रहेको थियो। तर, बैठकमा सुरुमै नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले बजेटमाथि धारणा राख्दै बैठक अगाडी बढ्न नदिने बताएका थिए।
उनले बजेटमा सरकारले आफै कमजोरी गर्ने तर, विपक्षी दललाई पेलेर अघि बढ्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासविपरीत रहेको धारणा व्यक्त गरे।
साथै उनले कमजोरी भएको बजेटलाई सत्तापक्षले बहुमतको आधारमा अघि बढाउन खोजेको प्रतिपक्ष दलको आरोप छ।
शाहीले बोलीसकेपछि सबै सांसदहरु संदनमा उभिएर बैठक सञ्चालनमा अवरोध पुर्याएका थिए। त्यसपछि सभामुख नन्दा गुरुङले १५ मिनेटका लागि बैठक स्थगित गरेकी छन्। १५ मिनेटका लागि स्थगित भएको बैठक अहिलेसम्म बस्न सकेको छैन्।




