हुम्ला। हिमाली जिल्ला हुम्लाका किसान यतिबेलास्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापन कार्यमा व्यस्त देखिएका छन्। स्याउका बोट समयमै काँटछाँट, मलजल र सिँचाइको उचित व्यवस्था गर्दा गुणस्तरीय फल उत्पादन हुने अपेक्षा छ।
प्राविधिकको सुझाव अनुसार किसानहरू धमाधम बगैँचा सुधारतर्फ लागेको सिमकोट गाउँपालिका–५ का किसान मानवीर रोकायाले बताए। विगत पाँच दिनदेखि आफ्ना ५० बोट स्याउ रहेको बगैँचाको व्यवस्थापनमा जुटेको उनी बताउँछन्।
‘सबै बोटको काँटछाँट गर्नुका साथै मल राख्ने खाल्डो खन्ने, सिँचाइ गर्ने र बोटको डाँठमा बोडोपेस्ट लगाउने कार्य भइरहेको छ’ उनले भने, ‘यसअघि बगैँचाको नियमित हेरचाह नगरे पनि गत वर्ष कृषि प्राविधिकबाट तालिम पाएपछि म सक्रिय भएको हुँ।’
जिल्लाको नाम्खा गाउँपालिका–१ स्थित हेप्का खोलामा स्याउ बगैचा बनाएका किसान पासाङ लामाले पनि बगैँचा व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको जानकारी दिए। उनले हाल साढे तीन सय बढि स्याउ लगाएका छन्। फल दिइरहेका स्याउका बोटहरूको काँटछाँट पूरा भइसकेको भन्दै सिँचाइ वयवस्थापनको काम भइरहेको उनले बताए।
हुम्लामा मङ्सिर अन्तिम सातादेखि नै स्याउ बगैँचा व्यवस्थापन सुरु गर्न सकिन्छ। उच्च हिमाली क्षेत्रहरूमा फागुन महिनाभर काँटछाँट गर्न सकिने कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तले बताए। उनका अनुसार जिल्लामा ५० भन्दा बढी विरुवा रहेकेो स्याउ बगैँचाको संख्या १५० भन्दा बढी छन्।
विभिन्न सहयोगी निकायको सहजीकरणमा किसानहरू विरुवा काँटछाँट, मलजल र बोडोपेस्ट प्रयोगलाई प्राथमिकता दिन थालेका हुन्। किसानको बढ्दो सक्रियतासँगै हुम्लामा व्यवसायिक स्याउ खेतीको सुरुआत भएको छ। यसले आगामी दिनमा उत्पादन वृद्धि गर्ने विश्वास लिइएको छ । हुम्लाका सातवटै गाउँपालिकाहरु स्याउ खेतीका लागि उपयुक्त मानिन्छन्।

