२०८३ असार ३१, बुधबार

वीरेन्द्रनगर। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाही २०८३ साल जेठ महिनाको “बेस्ट ट्राफिक पुलिस अफ द मन्थ” घोषित भएका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल, रुपन्देहीले लुम्बिनी प्रदेशभर कार्यरत ट्राफिक प्रहरीमध्ये उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै प्रहरी निरीक्षक शाहीलाई उक्त सम्मान प्रदान गरेको हो।

शाहीको नेतृत्वमा जेठ महिनामा बाँके जिल्लाभर १५० वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको, १,८७७ वटा सवारी साधनलाई कारबाही गरी १५ लाख ९९ हजार राजस्व संकलन गरिएको, स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ३ वटा मोटरसाइकलमाथि कारबाही गरिएको तथा २३९ वटा सवारी साधनको यान्त्रिक परीक्षण र कारबाही गरिएको थियो।

त्यसैगरी अटो तथा ई–रिक्साको व्यवस्थापन, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, सडक अनुशासन कायम तथा सवारी दुर्घटना न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको मूल्यांकनका आधारमा प्रहरी निरीक्षक शाहीलाई २०८३ साल जेठ महिनाको “बेस्ट ट्राफिक पुलिस अफ द मन्थ” घोषणा गरिएको हो।