२०८३ भाद्र १, सोमबार

काठमाडौँ। बागमती प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयले दाबी पेस गर्न आह्वान गरेको छ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्।

प्रदेश प्रमुखको कार्यालयले सोमबार (आज) जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरिएको उल्लेख छ।

इच्छुक प्रदेश सभा सदस्यले भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस भनिएको छ।

मुख्यमन्त्री बानियाँले सोमबारनै प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए। उनले सोही दिन प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए।

बानियाँले राजीनामा दिएसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच सत्ता समीकरणको प्रक्रिया सुरु भएको छ। प्रदेश सभामा कुनै एक दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउने पक्षले सरकार गठनको दाबी गर्नुपर्नेछ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेको गठबन्धनमा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व गर्ने सहमतिअनुसार यी दुई दलले बहुमतका लागि अन्य दलको साथ खोजिरहेका छन्।