सुर्खेत। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट १० लाख ३७ हजारभन्दा बढी मतदाताले भाग लिने भएका छन्।
कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतकाअनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकसहित कूल मतदाताको संख्या १० लाख ३७ हजार २५० पुगेको हो।
२०७९ को निर्वाचनमा ९ लाख ८ हजार ४३३ मतदाता रहेको कर्णालीमा यसपटक १ लाख २८ हजार ८१७ मतदाता थपिएका छन्। कुल मतदातामध्ये पुरुषको संख्या ५ लाख २७ हजार ८८६ र महिलाको संख्या ५ लाख नौ हजार ३६१ रहेको छ।
प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी मतदाता सुर्खेतमा २ लाख ४८ हजार ९४३ रहेका छन् भने सबैभन्दा कम डोल्पामा २४ हजार ११५ मतदाता छन्।
यस्तै सल्यानमा १ लाख ६२ हजार ४४९, दैलेखमा १ लाख ६१ हजार २०४, जाजरकोटमा १ लाख ७ हजार ९१, रुकुमपश्चिममा १ लाख ६ हजार ६६०, कालीकोटमा ८४ हजार ६४६, जुम्लामा ७१ हजार ५३९, मुगुमा ३६ हजार ३१ र हुम्लामा ३४ हजार ३७२ मतदाता रहेका छन्।
कर्णालीका १ हजार ४३७ मतदान केन्द्रमध्ये ४४१ अति संवेदनशील
यस्तै, कर्णालीमा ९४१ मतदान स्थल र १ हजार ४३७ मतदान केन्द्र निर्धारण गरिएको छ। जसमध्ये सल्यानमा ११७ मतदान स्थल र २०५ मतदान केन्द्र तोकिएको छ।
डोल्पा जिल्लामा ६८/६८ मतदान स्थल र केन्द्रहरू तोकिएका छन् भने मुगुमा ६७ मतदान स्थल र ६९ मतदान केन्द्र छन्।
जुम्लामा ८३ मतदान स्थल र १०८ मतदान केन्द्र, कालिकोटमा १०३ मतदान स्थल र १२७ मतदान केन्द्र निर्धारण गरिएको छ। हुम्ला जिल्लाका लागि ६० मतदान स्थल र ६४ मतदान केन्द्र, जाजरकोटमा ८८ मतदान स्थल र १४६ मतदान केन्द्र, दैलेखमा १३९ मतदान स्थल र २०८ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
यस्तै, सुर्खेतमा सबैभन्दा बढी मतदान केन्द्र तोकिएको छ। १४० मतदान स्थल र ३०२ मतदान केन्द्र निर्धारण गरिएको छ। रुकुमपश्चिममा ७६ मतदान स्थल र १४० मतदान केन्द्र तोकिएका छन्।
यस्तै, प्रदेश प्रहरी कार्यालय कार्णाली प्रदेशले कर्णालीका १० जिल्लामा ३५१ मतदानस्थलका ४४१ मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेको जनाएको छ।
कार्यालय प्रमुख डिआईजी माधवप्रसाद श्रेष्ठले आफ्नो बिदाई कार्यक्रममा पत्रकारहरुसँग बोल्दै कर्णालीका १ हजार ४३७ मतदान केन्द्रमध्ये ३०१ सामान्य र ६५१ संवेदनशील सूचीमा रहेको बताए।
निर्वाचनमा प्रदेशभर १४ हजार ७१९ जना प्रहरी परिचालन हुनेछन्। जसका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले अन्तिम तयारी रहेको जनाएको छ।