वीरेन्द्रनगर। कर्णाली प्रदेशमा साउन महिनामा १०२ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार साउन महिनामा भएका दुर्घटनामा संलग्न सवारीसाधनको संख्या १३० रहेको छ। दुर्घटनामा घाइते भएका सबै १४३ जनाको प्रहरीले उद्धार गरेको जनाएको छ।
प्रहरीको तथ्यांकअनुसार दुर्घटनाको प्रमुख कारण चालक देखिएका छन्। १०२ वटा दुर्घटनामध्ये ८१ वटा चालकको कारण भएका छन्।
त्यस्तै, ८ वटा दुर्घटना सवारीसाधनका कारण, ५ वटा सडक प्रयोगकर्ताका कारण, ३ वटा यात्रुका कारण, ३ वटा सडकका कारण र २ वटा मौसमका कारण भएको प्रहरीको विवरणमा उल्लेख छ।
यसरी हेर्दा कर्णालीमा साउनमा भएका कुल सवारी दुर्घटनामध्ये ठूलो हिस्सा चालकसँग सम्बन्धित कारणले भएको देखिन्छ। दुर्घटनाको कारण विश्लेषणमा चालकको कारण मात्र ८१ वटा अर्थात् करिब ७९ प्रतिशत रहेको छ।
सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले नियमित गस्ती तथा चेकजाँचलाई पनि तीव्रता दिएको जनाएको छ। साउन महिनामा ४ हजार ६५८ स्थानमा सवारी गस्ती र ४ हजार ६६३ स्थानमा चेकिङ गरिएको थियो। त्यस्तै, १२ हजार ७३ पटक पिकेट तथा १२ हजार १ पटक विशेष नियमित गस्ती ९क्च्ए० सञ्चालन गरिएको तथ्यांकमा उल्लेख छ।
चेकिङका क्रममा प्रहरीले २ हजार ४४ वटा कारबाही गरेको छ। त्यसबाट १९ लाख ७२ हजार रुपैयाँ राजस्व दाखिला भएको प्रहरीको विवरण छ।
सवारी दुर्घटना न्यूनीकरणलाई प्रहरीले जनचेतनामूलक कार्यक्रमको विषयसमेत बनाएको छ। साउनमा ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरणसम्बन्धी २६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा ६१७ जना सहभागी भएका थिए।
प्रहरीले नागरिकस्तरमा ट्राफिक सचेतना बढाउनुका साथै सवारी चेकजाँचमा कडाइ गर्नुपर्ने आवश्यकता औंल्याएको छ। नागरिक सुनुवाइका क्रममा पनि सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना र चेकजाँचमा कडाइ गर्नुपर्ने विषय उठेको प्रहरीको मासिक प्रगति विवरणमा उल्लेख छ।

