सुर्खेत। अविरल वर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्।
शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोका कारण घर भत्किएको तथा जोखिममा परेको खबर पाएपछि उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५० जनाको टोली परिचालन गरिएको छ।
पहिरोका कारण भेरी नगरपालिका–३ स्याला बस्ने पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जना परिवारका सदस्य आफन्तको घरमा आश्रय लिएर बसेका छन्।
त्यस्तै, सोही क्षेत्रका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन्। ती टहरामा भने हाल मानिस बसोबास नगर्ने जनाइएको छ।
१० जना घाइते
पहिरोमा परी घाइते हुनेमा भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही छन्। आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो आएपछि उनको छाती, टाउको र हातमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि शनिबार राति ८ः३० बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।
आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।
भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ। अवस्था गम्भीर रहेकी उनलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि राति ९ः१५ बजे थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ।
भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
सोही स्थानकी १६ वर्षीया मनिषा विक शरीरमा चोट लागेर घाइते भएकी छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। ४७ वर्षीया मोतीकला विकको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको पनि स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि उनलाई राति १०ः५५ बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।
सोही स्थानकी करिब २३ वर्षीया अनिता कार्कीको बायाँ खुट्टामा चोट लागेको छ। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।
भेरी नगरपालिका–२ रिसाङकी लक्ष्मी केसीका १० वर्षीय छोरा युनिश शाहीलाई सामान्य चोट लागेको छ। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।
त्यस्तै, सोही स्थानकी ४५ वर्षीया सुन्तली चदराको खुट्टामा चोट लागेको छ। उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।
तीन जना सम्पर्कविहीन
यस्तै, पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, भेरी नगरपालिका–२ चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका–२ का करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन तीनै जनाको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ।
अविरल वर्षाका कारण पहिरोको जोखिम अझै कायमै रहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ। घटनास्थलको थप विवरण आउने क्रम जारी रहेको छ।

