वीरेन्द्रनगर। कर्णाली प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ।
दुई दलका संसदीय दलबीच भएको सहमतिअनुसार प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटदेखि बजेट कार्यान्वयन र नयाँ नीति तथा कार्यक्रम अघि बढाउने विषयसम्म साझा समझदारी बनेको हो।
सहमति पत्रमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल र नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री मंगलबहादुर शाहीले हस्ताक्षर गरेका छन्।
बुधबार भएको सहमतिअनुसार नेपाली कम्युनिष्ट पार्टीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिनेछ।
त्यस्तै, नेकपा एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास तथा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय सम्हाल्ने सहमति भएको छ।
दुई दलबीच प्रशासनिक संरचना सुधारका लागि यसअघि गरिएका निर्णयहरू कार्यान्वयन गर्दै सुधारका बाँकी कामलाई निरन्तरता दिने सहमति पनि भएको छ।
यस्तै, आ.व. २०८२/८३ को बजेट पारित गर्दा प्रदेशसभामा रहेका दलहरूबीच भएको सहमतिअनुसार बजेट कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। १० लाखभन्दा माथिका योजनाहरू टेन्डर प्रक्रियाका आधारमा कार्यान्वयन गर्ने विगतको नीतिलाई निरन्तरता दिने सहमति पनि भएको छ।
नयाँ नीति, कार्यक्रम, मनोनयन तथा नियुक्तिका सम्बन्धमा आपसी सहमतिपछि मात्र कार्यान्वयनको प्रक्रिया अघि बढाउने दुई दलबीच समझदारी बनेको छ।
सहमति पत्रमा प्रदेश सरकारको सञ्चालन सुशासन, मितव्ययिता र पारदर्शिता कायम हुने गरी गर्ने उल्लेख छ।
साथै मुख्यमन्त्री शाहीले आजै विश्वासको मत लिँदै छन्।






