२०८३ श्रावण २४, आईतवार

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५, फुलवरियाका ओमप्रकाश राजभरले सिक्रीको बन्धनबाट मुक्ति पाएका छन्। स्थानीय सरकारको पहलमा उद्धार गरिएपछि उनलाई रुपन्देहीको तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीस्थित मानव सेवा आश्रममा पुर्‍याइएको छ।

ओमप्रकाश करिब १० वर्षअघि रोजगारीका लागि विदेशमा थिए। सोही क्रममा उनकी श्रीमतीले छोरीलाई जन्म दिएर अर्कैसँग विवाह गरेपछि उनि गहिरो मानसिक तनावमा परेका थिए।

विदेशबाट घर फर्किएपछि उनको मानसिक अवस्था क्रमशः बिग्रँदै गएको र नियन्त्रणबाहिर जान थालेपछि परिवारले बाध्य भएर सिक्री लगाइदिने गरेको परिवारको भनाइ छ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण परिवारले उनको आवश्यक उपचार गराउन सकेको थिएन।

घरको दैनिक गुजारा चलाउनसमेत वृद्ध बुवा भरत राजभरले मजदुरी गर्नुपर्ने बाध्यता रहेकाले उचित हेरचाह र औषधी उपचारको अभावमा ओमप्रकाशको अवस्था दिनानुदिन कष्टकर र जटिल बन्दै गएको परिवारको भनाइ छ ।

ओमप्रकाशको यो दयनीय अवस्थाबारे सरावल गाउँपालिका–५ का वडा अध्यक्ष लक्ष्मण चौधरीमार्फत जानकारी पाएपछि गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले उद्धारको तदारुकताका साथ पहल गरेका थिए।

अध्यक्ष चौधरीको स्वयं उपस्थितिमा गाउँपालिकाको एम्बुलेन्समार्फत ओमप्रकाशलाई रूपन्देहीको तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीमा रहेको मानव सेवा आश्रम पुर्‍याइएको छ।

वर्षौंसम्म सिक्रीमा बाँधिएर अत्यन्तै कष्टकर जीवन बिताउन बाध्य ओमप्रकाशलाई अब मानव सेवा आश्रममा आवश्यक संरक्षण, माया, हेरचाह तथा उचित उपचारको व्यवस्था मिलाइने भएको छ।