विराटनगर । सशस्त्र प्रहरी बलले मोरङको सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको ठुलो परिमाणको भारतीय रुपैयाँ बरामद गरेको छ।
विराटनगरको बरडंगा र रानी क्षेत्रबाट गरी कुल २३ लाख ३ सय भारतीय रुपैयाँ सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार, विराटनगरको बरडंगा डोरिया इलाकाबाट २० लाख ३ भारतीय रुपैयाँ बरामद गरिएको छ। रतुवामाई नगरपालिका–२ स्थित बरडंगा सीमा नाकाबाट सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको टोलीले भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सो रकम बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङ एसपी गेहेन्द्र भण्डारीले जानकारी दिए।
गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि रकम बोकेका व्यक्ति झोला छाडेर फरार भएका थिए। बरामद गरिएको उक्त रकम भन्सार कार्यालय लैजाँदा प्रक्रिया नमिलेपछि आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
मान्छे पक्राउ नपरेको अवस्थामा भन्सारले लिन नमानेपछि प्रहरीले राजस्व बुझाउनका लागि पत्र तयार गरिरहेको बुझिएको छ।
यसैगरी, विराटनगरकै रानी क्षेत्रबाट पनि थप ३ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। सो क्षेत्रबाट रकमसहित एक व्यक्तिलाई समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिको विवरण र घटनाको थप जानकारी लिखित रूपमा आउन बाँकी छ।




