२०८३ श्रावण २१, बिहीबार

कालीकोट। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका प्रमुख एक सय पर्यटकीय गन्तव्य छनोट गर्ने क्रममा पचाल झरनालाई ६४ औँ स्थानमा सूचीकृत गरेको छ। ​

कालीकोटमा अवस्थित पचाल झरना नेपाल सरकार र नेपाल पर्यटन बोर्डको प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा नेपालकै पहिलो अग्लो झरनाका रूपमा सूचीकृत भएकाे हाे।

यसकाे उचाइ समुद्री सतहबाट करिब ९७० मिटर र  ३८१ मिटर लामो छ।

तत्कालीन जिल्ला विकास समितिले जिपिएस प्राविधिबाट मापन गरे अनुसार ४१५ मिटर अग्लो रहेको थियो। पछिल्लो समय गाउँपालिकाले एक ठाउँमा ठोकिएको क्षेत्रलाई गणना नगर्दा ३८१ मिटर भएपछि यसैलाई आधार मानेर बोर्डले नेपालको पहिलो अग्लो झरनाको सूचीमा राखेको छ।

यसअघि नेपालकै अग्लो मानिँदै आएको तेह्रथुमको ह्यातुङ झरना (३६५ मिटर) भन्दा यो १६ मिटर बढी अग्लो छ। औपचारिक नापजाँचपछि यो झरना नेपालको सबैभन्दा अग्लो झरनाका रूपमा स्थापित भएको छ भने एसियाकै अग्ला झरनामध्ये एकमा गणना भएको छ।

पचालझरना गाउँपालिका-४ मा रहेकाे यो झरनाकाे नामबाटै पालिकाको नामाकरण गरिएकाे छ।