२०८३ बैशाख १३, आईतवार

पोखरा। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस/रिसवत रकमसहित नियन्त्रणमा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको नगद रु. ५०,०००।– (पचास हजार रुपैयाँ) सहित नियन्त्रणमा लिएको हो।

सांकेतिक तस्बीर एआइ

आयोगका अनुसार, लागूऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना तथा उजुरी निवेदन प्राप्त भएपछि निगरानी बढाइएको थियो।

सोही क्रममा वैशाख १२ गते सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएकाे छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।