२०८३ असार १०, बुधबार

सुर्खेत। जाजरकोटको शिवालय गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड ८ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ।

गाउँपालिकाकी उपप्रमुख गीता शाहीले आगामी आर्थिक वर्षकाे उक्त बजेट मंगलवार गाउँ सभाको १८औँ अधिवेशनमा पेस गरेकी हुन्।

गाउँपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।

स्वीकृत बजेटमध्ये चालुतर्फ २७ करोड ५० लाख ९७ हजार १४८ तथा पूँजीगततर्फ २३ करोड ५७ लाख ५० हजार ७ विनियोजन गरिएको छ।

क्षेत्रगत रूपमा सामाजिक विकास क्षेत्रमा २५ करोड ७० लाख ४० हजार (५०.३२ प्रतिशत), पूर्वाधार विकास क्षेत्रमा  १३ करोड ६८ लाख ७० हजार (२६.८२ प्रतिशत), सुशासन तथा संस्थागत विकास क्षेत्रमा ९ करोड ५२ लाख ८२ हजार १५५ (१८.६६ प्रतिशत), आर्थिक विकास क्षेत्रमा  १ करोड ६७ लाख १५ हजार (३.२७ प्रतिशत) तथा वन, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा  ४९ लाख ४० हजार (०.९७ प्रतिशत) बजेट विनियोजन गरिएको छ।

यस्तै,  बजेटको स्रोत व्यवस्थाअनुसार संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँडमार्फत ३८ करोड ८७ लाख २३ हजार, कर्णाली प्रदेश सरकारबाट ८ करोड २४ लाख ९३ हजार १४८, चालु आर्थिक वर्षको अनुमानित अल्या ३ करोड तथा गाउँपालिकाको आन्तरिक आय ९६ लाख ३१ हजार ७ गरी कुल ५१ करोड ८ लाख ४७ हजार १५५ बराबरको स्रोत व्यवस्था गरिएको छ।