वीरेन्द्रनगर। नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको ‘सुर्खेत तीज नृत्य आइकन २०२६’ का लागि दुई सय बढीले अडिसन दिएका छन्।
जेबी डान्स स्टुडियो एन्ड फिटनेस सेन्टर, वीरेन्द्रनगरको आयोजनामा भएको उक्त आइकनका लागि भदौ ४ गतेसम्म दुई सय बढीको अडिसन दिएका हुन्।
‘संस्कृति जोगाऔँ, प्रतिभा चम्काऔँ’ भन्ने मूल नाराका साथ आयोजना भएको नृत्य प्रतियोगिताका लागि यही साउन २९ गतेदेखि वीरेन्द्रनगरका विभिन्न विद्यालय लगायतका क्षेत्रमा अडिसन सुरु गरिएको छ।
२० वर्षमुनिका महिला तथा छात्राहरूका लागि लक्षित गरेर आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक सहभागीता रहेको जेबी डान्स स्टुडियो एन्ड फिटनेस सेन्टरले जनाएको छ।
डान्स स्टुडियो एन्ड फिटनेस सेन्टरका प्रमुख जेनित विष्टले अडिसनको अन्तिम मिति यहीँ भदौ ६ गतेसम्म रहेको जानकारी दिए। ‘साउन २९ गतेबाट सुरु भएको अडिसन भदौ ६ गतेसम्म चल्ने छ’, उनले भने, ‘भदौ ५ गते भोली अडिसन वीरेन्द्रनगरका विभिन्न विद्यालयमा हुनेछ। छुटेकाहरुका लागि ६ गते हाम्रो स्टुडियो मै आएर दिन सकिने व्यवस्था गरेका छौँ।’
यस्तै, प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा अडिसन, त्यसबाट छनोट भएका प्रतियोगीबीच भदौ १३ गते सेमिफाइनल अर्थात् दोस्रो चरण र त्यसपछि अन्तिम चरणको प्रतिस्पर्धा फाइनल भदौ २७ गते हुनेछ।

प्रतियोगितामा प्रथम हुनेले ३० हजार रुपैयाँ, द्वितीय हुनेले २० हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेतालाई ट्रफी, पदक र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
त्यस्तै, उत्कृष्ट परम्परागत पोसाक र तीज सांस्कृतिक रानी विधामा समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

