कर्णाली प्रदेश स्थापना दिवस

प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा

२०८३ भाद्र ४, बिहीबार

वीरेन्द्रनगर। २०७२ साउन २१ गते नेपाल सरकारले संघीय व्यवस्था कार्यान्वयनका लागि प्रदेशहरूको नक्सांकन गर्‍यो। उक्त सीमांकनमा साविकका भेरी र कर्णाली अञ्चललाई सुदूरपश्चिम प्रदेशमा मिसाउने निर्णय जारी गरियो।

साविक मध्यपश्चिमाञ्चलका बाँके र बर्दियाबाहेकका १३ जिल्लालाई सुदूरपश्चिम प्रदेशमा गाभ्ने निर्णय सार्वजनिक हुनेबित्तिकै सुर्खेतमा फरक माहोल बन्यो।

सरकारको उक्त निर्णय साविक भेरी र कर्णाली अञ्चलका नागरिकलाई उपयुक्त लागेन। पञ्चायतकालमै मध्यपश्चिमाञ्चलको सदरमुकाम रहेको सुर्खेतलगायत जिल्लालाई सुदूरपश्चिम प्रदेशमा मिसाएपछि छुट्टै प्रदेशको माग गर्दै ‘अखण्ड मध्यपश्चिम’को नारासहित आन्दोलन जन्मियो। सरकारको निर्णयको विरोधमा विद्यार्थी, बुद्धिजीवी, शिक्षक तथा नागरिक अगुवा आन्दोलनमा उत्रिए।

नागरिक समाजका अगुवाले संघर्ष समिति नै गठन गरेर सरकारविरुद्ध थप आन्दोलन घोषणा गरे। हाल कर्णाली प्रदेशका दैलेख, कालिकोट, जुम्ला र सुर्खेत जिल्लाका विभिन्न ठाउँमा आन्दोलन चर्कियो।

२०७२ साउन २२ र २३ गते हुँदै हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा उर्लिएको आन्दोलनले जिल्ला प्रशासन कार्यालयमा क्षतिसमेत हुन पुग्यो।

२०७२ साउन २४ गते बिहानै मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट विद्यार्थी नेता तेजविक्रम बस्नेतको नेतृत्वमा एक समूह वीरेन्द्रनगरको सडकमा निस्कियो।

आन्दोलनकारीले विभिन्न नेताहरूका घरमा तोडफोड गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्‍यो।

आन्दोलन दिनप्रतिदिन चर्किँदै गयो। यस क्रममा एकैदिन अर्थात् साउन २५ गते तीन जनाको मृत्यु भयो। प्रहरीले चलाएको गोली लागेर सुर्खेतका टीकाराम गौतमको घटनास्थलमै ज्यान गयो।

भीड नियन्त्रण बाहिर गएपछि तत्कालीन डीआईजी केशव अधिकारी नै फिल्डमा खटिए। उनी पुगेको ५ मिनेटमै अन्धाधुन्धा गोली चल्यो। गोलीको वर्षा भएपछि आन्दोलनकारी गौतमको शव बोकेर नाराजुलस गर्दै धमलाचोक पुगे।

त्यो दिनभर वीरेन्द्रनगर नगरपालिकाको कालुञ्चोक, धमलाचोक, इत्रामलगायतका क्षेत्र तनावग्रस्त बने।

गौतमको टाउको र छातीमा गोली लागेको थियो। आन्दोलनबाट आत्तिएको प्रशासनले दिउँसो साढे १ बजे नै कर्फ्यु आदेश जारी गर्‍यो।


                                 कर्फ्यु उल्लंघन गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतको परिसरमा पुगेका आन्दोलनकारी। तस्बिरः चिन्तामणि शर्माको फेसबुकबाट

कर्फ्युको पर्वाह नगरी प्रदर्शन झनै चर्कियो। अखण्ड मध्यपश्चिम आन्दोलनमा होमिएका वीरेन्द्रनगर–८ इत्रामका २७ वर्षीय यामबहादुर बीसी पनि सोही दिन अपराह्न ४ बजे धमलाचोकमा प्रहरीले चलाएको गोली लागेर घाइते भए। घाँटीमा गोली लागेका उनको पनि मृत्यु भयो।

गौतम र बीसी मारिएको केही समयपछि स्थानीय मंगलगढी चोकमा प्रदर्शनकारी र प्रहरीबीचको भागदौडमा वीरेन्द्रनगर-३ का गोपालसिंह रजौर पनि सदाका लागि बिदा भए। यसरी एकैदिन तीन जनाले ज्यान गुमाए। धेरै जना प्रदर्शनकारी घाइते भए।

सहिदहरू क्रमशः सुर्खेतका यामबहादुर बीसी, टीकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवर।

जुम्लामा पनि प्रहरीले आन्दोलन दमनका लागि चलाएको गोली लागेर हरिबहादुर कुँवर घाइते भए। घाइते कुँवरलाई उपचारका लागि काठमाडौँ पुर्‍याइयो। तर उनी पनि साउन २६ गते शिक्षण अस्पताल (महाराजगन्ज) मा उपचारका क्रममा बिते।

आन्दोलन दुई सातासम्म चल्यो।

‘सुदूरपश्चिम जाँदैनौँ, मध्यपश्चिम छाड्दैनौँ,’ ‘सुर्खेतलाई संघीय राजधानी घोषणा गर’, ‘बरु रोटी खाँदैनौँ, हामी डोटी जाँदैनौँ’, जस्ता नारा सडकमा दिनहुँ लागिरहे। आन्दोलनको रापले चार राजनीतिक दल सम्झौतामा आउन बाध्य भए। अन्तत: सात प्रदेश बनाउने सहमति भयो। अर्थात् प्रदेश नम्बर ६ (कर्णाली) जन्मियो।

आन्दोलनमा सहभागी कर्णालीकानेताहरू। तस्बिर : तेजविक्रम बस्नेतको फेसबुकबाट।

दस जिल्ला समेटेर गरेर छुट्टै प्रदेश बनाउने घोषणा सरकारले गर्‍यो। २०७२ भदौ ४ गते भेरी र कर्णालीका १० जिल्लालाई आबद्ध ६ नम्बर प्रदेश घोषणा भयो।

नेपालमा भएका विभिन्न चरणका आन्दोलनमा शाहदत प्राप्त गरेकाहरूको सूचीमा तत्कालीन ६ नम्बर प्रदेश (हाल कर्णाली) का लागि लडेका चार जना सहिद पनि थपिए।

कर्णाली प्रदेश प्राप्तिका लागि भएको आन्दोलनले ११ वर्ष (२५ साउन २०८३) पूरा गरेको छ।

प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले बिहीबार (भदौ ४ गते) प्रदेशभर सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सरकारले बिदा दिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सूचना जारी गरी कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो। गत चैत २४ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो। बिहीबार कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय बन्द रहेछन्।

साथै कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु गरेर सहिद दिवस मनाउने निर्णय गरेर कार्यक्रम गरिरहेको छ। यस क्रममा आज प्रदेश स्थापना तथा सहिद दिवसको आयोजना गरिएको छ।