काठमाडौं। पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ। सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो।
काठमाडौंको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा ‘घाटगाउँ’ पुस्तक सार्वजनिक गरेका हुन्। सुर्खेतको चौकुने गाउँपालिका-९ घाटगाउँमा जन्मिएका उनले अध्ययन तथा संघर्ष गर्दै अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा ‘घाटगाउँ’ पूस्तक लेखेका हुन्।
पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित घाटगाउँ पुस्तकमा उनले आफ्नो स्कुले जीवन, उच्च शिक्षा पढ्दाको संघर्ष, रेडियो तथा अनलाइन पत्रकारिताको उतारचढावसँगै पछिल्लो समय पर्यटन अभियानमा होमिदाका आफ्ना चुनौतीपूर्ण भोगाइ समेटेका छन्।
पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम आफ्नै गाउँको सरस्वती माध्यामिक विद्यालयमा पूस्तकालय निर्माणमा खर्च गर्ने पनि उनले बताए । यसका लागि स्कुलमा पनि घाटगाउँ पुस्तक सार्वजनिक गरिएको उनको भनाइ छ।
‘सुर्खेतदेखि अमेरिकासम्म पुग्दाको यतार्थ सपना र संघर्षको भोगाइ इमान्दार रुपमा पुस्तकमा लेखेको छु’, उनले विमोचन कार्यक्रममा संक्षिप्त रुपमा भने, ‘आफ्नो सपनालाई माया गर्ने हरकोहीलाई यो पुस्तकको भोगाइ आफ्नो लाग्छ। त्यसैले पूस्तक बिक्रीबाट आएको सबै रकम घाटगाउँकै सरस्वती माध्यामिक विद्यालयमा पुस्तकालय निर्माणमा खर्च गर्नेछु।’




