धादिङ। धादिङमा दुई बस ठोकिँदा घाइते भएका टिपर चालकको मृत्यु भएको छ।
धादिङको थाक्रेमा आज बिहान दुईवटा बस आपसमा ठोकिँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ।
मृतक युवक धादिङकै धुनिबेसी नगरपालिका ९ स्याउले घर भएका ३५ वर्षीय सुजन तामाङ छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार तामाङ चिया पसलमा बसिरहेको बेला अनियन्त्रित भएको बसले ठक्कर दिँदा मृत्यु भएको हो।
थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै आज बिहान दुईवटा बस आपसमा ठोक्किएका हुन्।
काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश ०१-००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३-०१-००६ ख १५५२ नम्बरको बस आइतबार बिहान ठोक्किएका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए।
ठक्करपछि बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा गएर ठोक्किएको थियो।




