वीरेन्द्रनगर। मधेस प्रदेश वीरेन्द्रनगरमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। मधेस एक खेल अगावै फाइनल प्रवेश गरेको हो।
मधेसले हालसम्म आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। प्रतियोगीतामा खेलिने कुल छ खेल मध्ये मधेस प्रदेशले पाँच खेल जितेर महत्वपूर्ण १० अंक जोडेको छ।
शुक्रबार वीरेन्द्रनगर क्रिकेट मैदानमा भएको खेलमा मधेसले लुम्बिनी प्रदेशलाई २४ रनले पराजित ग¥यो। टस जितेर पहिले ब्याटिङ रोजेको मधेसले निर्धारित ओभरमा तीन विकेट गुमाएर १६१ रनको बलियो योगफल खडा गरेको थियो। १६२ को लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा चार विकेट गुमाउँदै १३७ मा सीमित हुन पुग्यो।
पहिले ब्याटिङ गरेको मधेशका लागि ‘प्लेयर अफ द म्याच’ प्रतिमा साह र ओपनर सना प्रवीनले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। ओपनर एलिशा यादव पाँच रनमा आउट भएपछि क्रिजमा आएकी प्रतिमाले मात्र ४७ बलमा ३ चौका र ५ छक्काको मद्दतले अविजित ६८ रनको विष्फोटक इनिङ्स खेलिन्।
त्यस्तै, सना प्रवीनले ५७ बलमा १० चौका प्रहार गर्दै महत्वपूर्ण ६२ रनको योगदान दिइन्।
लुम्बिनीका लागि बलिङतर्फ आश्ना चौधरी र आयुषा भुसालले समान १–१ विकेट लिइन्।
लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका ओपनर सुप्रिया बुढा मगरले ५३ बलमा ४ चौकासहित सर्वाधिक ४४ रनमा अविजित रहिन्। कप्तान अञ्जी पाठकले १८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै तीव्र गतिमा ३२ रन जोडिन्।
चौथो नम्बरमा आएकी युनिशा सारु मगरले १४ र रितु रावलले अविजित १५ रन बनाए पनि टिमलाई जित दिलाउन सकिनन्।
मधेसका बलरहरूले कसिलो बलिङ गर्दै लुम्बिनीका ब्याटरहरूलाई बाँधेर राखे। मधेसका लागि साक्षी कुमारी यादव, सुस्मिता कुमारी यादव, आरती महतो र प्रतिमा साहले समान १–१ विकेट लिए।



