काठमाडौं। इरानी सेनाले हिन्द महासागरस्थित डिएगो गार्सिया टापुमा रहेको बेलायत र अमेरिकाको एयर बेसमा मिसाइल प्रहार गरेको छ। घटनाप्रति कडा आक्रोश व्यक्त गर्दै बेलायतले यसलाई इरानको गैरजिम्मेवारपूर्ण कदम भनेको छ।
बेलायती अधिकारीले यो असफल आक्रमण प्रयासबारे कुनै विस्तृत जानकारी दिएका छैनन्। मिसाइलहरू सैन्य बेसको कति नजिकसम्म पुगेका थिए भन्ने स्पष्ट छैन। उक्त सैन्य बेस इरानबाट करिब चार हजार किलोमिटरको दूरीमा छ।
बेलायतको रक्षा मन्त्रालयले यो क्षेत्रमा इरानको आक्रामक व्यवहार र होर्मुज जलमार्ग बन्द गर्नु आफ्नो देशको हित र सहयोगीका निम्ति एक खतरा भएको जनाएको छ।
इरानमाथि अमेरिका–इजरायलको आक्रमणमा बेलायत सिधा रूपमा सहभागी छैन। तर, उसले अमेरिकी बमवर्षक विमानलाई इरानको मिसाइल साइटमा आक्रमण गर्न आफ्नो बेस प्रयोगको अनुमति दिएको छ।
शुक्रबार बेलायत सरकारले इरानले होर्मुज जलमार्गमा जहाजमाथि गर्ने आक्रमण रोक्न अमेरिकी बमवर्षक विमानले आफ्नो डिएगो गार्सिया सैन्य बेस प्रयोग गर्न सक्ने जनाएको थियो।




