काठमाडौँ । जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते काठमाडौँको बानेश्वरमा एक युवक टाउकामै गोली लागेर रक्ताम्मे हुँदै सडकको बारमा झुन्डिन्छन्। सामाजिक सञ्जालमा भाइरल त्यो भिडिओको बीभत्स दृश्य देख्दा कसैले पनि उनी जीवित रहे होलान् भन्ने सोच्न सक्थेनन्। किनकि त्यस दिन प्रहरीको गोली लागेर १९ युवा मारिएका थिए।
तर खुसीको खबर- दैलेख भगवतीमाई गाउँपालिका घर भएका ती युवक २८ वर्षीय दीपेन्द्र बस्नेत हाल काठमाडौँमा उपचाररत रहेको र स्वास्थ्य सुधार हुँदै गएको जानकारी प्राप्त भएको छ।
उनको तस्बिरसहित केपी खनालले आफ्नो फेसबुकमा लेखेका छन्, ‘पीडामा पनि एकाबिहानै एउटा खुसीको आशा बाँड्न यो खबर सुनाउँदै छु कि आन्दोलनका दिन यो तस्बिरमा देखिनुभएको व्यक्ति बाँच्नुभएको र अहिले स्वस्थ हुँदै जानुभएको छ।’
उनले अगाडि लेखेका छन्, ‘दैलेख भगवतीमाई गाउँपालिका घर भई हाल काठमाडौँ काम गर्न आउनुभएका २८ वर्षीय दीपेन्द्र बस्नेत जेनजी आन्दोलनको पहिलो दिनमै टाउकोमा गोली लागी झुन्डिरहेको तस्बिर सञ्जालमा आइरहेको थियो। हामी आन्दोलन दिनबाटै बिहानदेखि साँझसम्म अस्पताल, बिरामी, सफाइ गरिरहने क्रममा हिजो उहाँलाई भेट्न पाएका थियौँ।
उहाँको बुवाले “आन्दोलनको दिन यो अवस्थामा थियो मेरो छोरा” भन्दै देखाएको त्यो तस्बिरले मुटु झस्स बनायो अनि एउटा खुसी दियो। यस्तै देशभर घाइते भएका सबैको छिटो खुसीको खबर सुन्न पाइयोस्। पुनः उहाँलाई स्वास्थ्य लाभको कामना।’





