काठमाडौं । वेस्टइन्डिजले यसै महिना शारजाहमा हुने नेपालविरुद्धको तीन टि–२० खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।
यस टोलीमा पाँच जना नयाँ (डेब्यु नगरेका) खेलाडी समावेश भएका छन्। नियमित कप्तान शाइ होपसहितका केही मुख्य खेलाडीलाई आराम दिइएको हुँदा वेस्टइन्डिजलाई यसपटक बाँया हातका स्पिनर अकील होसिनले कप्तानी गर्ने भएका छन्।
नयाँ अनुहारमा शीर्षक्रमका ब्याट्सम्यान अकीम अगस्टे, ब्याटिङ अलराउन्डर नविन बिडाइसी, लेग स्पिनर जिशान मोटारा, बाँया हातका फास्ट बलर रामोन सिमोन्ड्स र विकेटकिपर–ब्याट्सम्यान आमिर जाङ्गो रहेका छन्।
साथै, अमेरिका टोलीका लागि आठ टि–२० आई खेलिसकेका तर वेस्टइन्डिजका लागि अझै नखेलेका करिमा गोरेलाई पनि समावेश गरिएको छ। उनले हालैको सिपिएल २०२५ मा एन्टिगुवा एन्ड बार्बुडा फाल्कोन्सबाट ११ खेलमा २१९ रन बनाएका थितए।
अनुभवी खेलाडीमध्ये फाबियन एलन, जेसन होल्डर र काइल मेयर्स पनि टोलीमा परेका छन्। होसिनले यसअघि सबैभन्दा धेरै टि–२० आई खेलेका भए पनि यो पहिलो पटक उनले वेस्टइन्डिजलाई कप्तानी गर्ने अवसर पाएका छन्।
सन् २०२४ को अप्रिलमा वेस्टइन्डिज ‘ए’ टोली नेपाल भ्रमणमा आएको थियो र पाँच टि–२० खेल खेलेको थियो। यद्यपि नेपालले सिरिज गुमाए पनि दुई खेलमा जित हात पारेको थियो।
नेपाल र वेस्टइन्डिजबीचको पहिलो टि–२० खेल सेप्टेम्बर २७ (असोज ११) मा हुनेछ भने दोस्रो र तेस्रो खेल क्रमशः सेप्टेम्बर २९ र ३०(असोज १३ र १४) मा हुनेछ।
नेपालविरुद्धको टि–२० सिरिजका लागि वेस्टइन्डिज टोलीः
अकील होसिन (कप्तान), फाबियन एलन, ज्वेल एन्ड्र्यु, अकीम अगस्टे, नविन बिडाइसी, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याक्कॉय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर





