काठमाडौँ । नेपालको पश्चिमी क्षेत्रबाट मनसुन (वर्षायाम ल्याउने मौसम प्रणाली) क्रमश: बाहिरिन सुरु गरेको छ।
जल तथा मौसम विज्ञान विभागले आज (असोज २०) दिउँसो जनाएअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानबाट मनसुन बाहिरिएको हो।
यस वर्ष औसत मिति जुन १३ तारिखभन्दा १५ दिनअगाडि मे २९ तारिखमै नेपाल प्रवेश गरेको थियो। यो बाहिरिने सरदर मितिचाहिँ यही अक्टोबर २ तारिख थियो। तर औसत मितिभन्दा केही दिन ढिला गरी मनसुन नेपालबाट हट्न थालेको हो।
मनसुन देशभरिबाट एकैचाोटि बाहिरिँदैन। यो पश्चिमबाट क्रमश: हट्दै हट्दै अन्त्यमा पूर्व कोसी प्रदेश हुँदै पूरै नेपालबाट बाहिरिन्छ। त्यसपछि मात्र मौसम विभागले देशबाट मनसुन बाहिरिएको घोषणा गर्छ।
अहिले भने लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पूर्वी भेग तथा मधेस र कोसी प्रदेशका पूरै क्षेत्रमा मनसुनको प्रभाव कायमै छ।
गत वर्ष भने मनसुन अक्टोबर १२ तारिखका दिन नेपालको पूरै क्षेत्रबाट बाहिरिएको थियो।
मनसुन बाहिरिएपछि मुलुकमा पश्चिमी वायुको प्रभाव सुरु हुने मौसमविद् बताउँछन्। मनसुनी वायुचाहिँ पूर्वी वायु हो। जुन हरेक वर्ष नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरी देशभर फैलिने गर्छ।





