सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीमा पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन्।
होटल व्यवसायी संघ सुर्खेत र कर्णाली प्रदेश समितिका पदाधिकारीहरुसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले कर्णालीको आर्थिक विकास पर्यटन क्षेत्रसँग जोडेर गर्न सकिने र त्यसका लागि होटल व्यवसायीहरुको सक्रियता जरुरी रहेको बताए।
कर्णाली प्रदेशमा पर्यटक भित्र्याउन र पर्यटन दशक मनाउने सम्बन्धमा गर्न सकिने कामहरुका बारेमा मुख्यमन्त्री शाहीले होटल व्यवसायीहरुसँग जिज्ञासा राख्नुका साथै सुझाव समेत मागे।
शाहीले सुर्खेतमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद हुने समयमा यहाँका होटलहरुले व्यवस्थापनका सम्बन्धमा पनि उनिहरुसँग छलफल गरेका थिए।
होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले पर्यटन दशकको तयारी गर्नु अघि पर्यटकीय क्षेत्रहरु सम्म जाने बाटोको सहजता हुनुपर्ने र त्यहाँ नजिकै रहेको जग्गाको उपलब्ध गराएर होटल क्षेत्रमा समेत लगानी भित्र्याउन सकिने बताए।
होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष प्रतिभा वलीले कर्णालीमा होटलहरुको वर्गीकरण गर्न र पर्यटक बोक्ने गाडीको नम्बर प्लेट दिने सरकारले पहल गरिदिन आग्रह गरिन्।





