सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको आरोपमा १६ जना पक्राउ परेका छन्। बिहीबार साढे ११ बजेको समयमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले सेवाग्राहीको सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण गरिदिने तथा जग्गा नामसारी लगायतका भू–सेवा सम्बन्धी काम गरिदिने भन्दै रकम लिँदै बिचौलियाको रूपमा काम गरिरहेको सूचनाका आधारमा प्रकाउ गरिएको जानकारी दिए।
प्रहरी निरीक्षक किशोर खत्रीको कमाण्डमा खटिएको टोलीले यातायात व्यवस्था कार्यालयबाट ६ जना पुरुष र मालपोत कार्यालयबाट १० जना महिला गरी जम्मा १६ जनालाई नियन्त्रणमा लिएको उनले बताए।
डिएसपी बुढथापाका अनुसार पक्राउ पर्नेहरुमा यातायात व्यवस्था कार्यालय सुर्खेतबाट वीरेन्द्रनगर नगरपालिका–१ प्रगतिशील टोल बस्ने ३६ वर्षीय दीपकबहादुर विक, वडा नम्बर ३ बस्ने ६२ वर्षीय इन्द्रबहादुर शाही, वडा नम्बर १२ बस्ने ३३ वर्षीय प्रदीप खड्का, वडा नम्बर ५ बस्ने २८ वर्षीय हरिप्रसाद देवकोटा, वीरेन्द्रनगर १० बस्ने ३२ वर्षीय प्रभाकर शर्मा गौतम र लेकवेशी नगरपालिका–३, बस्ने ३७ वर्षीय रमेश दमाई छन्।
यस्तै, मालपोत कार्यालय सुर्खेतबाट पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका ३ बस्ने २५ वर्षीय लक्ष्मी शाही, ३४ वर्षीय पार्वती योगी, वडा नम्बर ५ बस्ने ३५ वर्षीय पवित्रा न्यौपाने,
वडा नम्बर ६ बस्ने २३ वर्षीय सम्झना योगी र ३८ वर्षीय निर्मला योगी छन्।
वीरेन्द्रनगर नगरपालिका–११ बस्ने १८ वर्षीय रोशनी शाही, ३१ वर्षीय दुर्गा शाही, २० वर्षीय गीता सुनार, ३२ वर्षीय रोशमी तिवारी, र वीरेन्द्रनगर–१२ बस्ने ३८ वर्षीय कुसुम बुढाक्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।





