हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा चरनका लागि छाडिएका बेला हिमपात हुँदा बेपत्ता भएका चौरी गाईसहित तीन सयभन्दा बढी पशुको उद्धार गरिएको छ।
नाम्खा गाउँपालिका-६ वडाध्यक्ष पाल्जोर तामाङसहितको टोली खोजीमा जाँदा लाप्चा क्षेत्रको साँक्या खोलामा सकुशल फेला परेका हुन्। बेपत्ता पशुको खोजीका लागि आफूसहित लिमीका स्थानीयको टोली लाप्चा क्षेत्र पुग्दा साँक्या खोलामा हिउँमा उभिएको अवस्थामा बेपत्ता भएकामध्ये ३०७ पशु भेटिएपछि तुम्लिङमा सुरक्षित ल्याएको वडाध्यक्ष पाल्जोरले जानकारी दिए।
उनका अनुसार गत असोज १० र ११ गते परेको हिमपातपछि ती पशु बेपत्ता भएका थिए। २७ दिन घाँस नखाएर भएपनि पशु बाँच्न सफल भएको उनले बताए। हाल पत्ता लागेका पशुमध्ये ५० घोडा, २० झोपा र बाँकी २३७ वटा चौरीगाई रहेका छन्।
ग्याउ खोला र लिङ खोलाका पाटनमा चरनकै अबस्थामा रहेको बेला भारी हिमपात भएपछि तीनसय भन्दा बढी पशु बस्तु बेपत्ता अवस्थामा रहेका थिए। पशुहरु सकुशल भेटिएपछि लिमीका किसान खुसी छन्।
यता ठुलो संख्यामा पशु बेपत्ता भएपछि नाम्खा गाउँपालिकाले ती पशुको खोजीका लागि ताक्चीबाट ग्याउ खोलासम्मको सडकमा जमेको हिउँ पन्छाउन टेण्डर आव्हान गरेको थियो। सो क्षेत्रको हिउँ पन्छाएपछि बेपत्ता पशुको खोजीमा सहयोग पुगेको हो।





