कैलाली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने व्यक्तिगत तथा धार्मिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। कारागारमा रहँदा गरेको भाकल पूरा गर्न धार्मिक स्थलमा पूजाअर्चना गर्न भारत जान लागेको उनले बताए।
शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका लामिछाने पत्नी निकिता पौडेलसहित कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लागेका हुन्। धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो भ्रमण पारिवारिक र धार्मिक उद्देश्यमा केन्द्रित रहेको बताए।
परिवारको आध्यात्मिक आस्था र परम्पराअनुसार कारागारमा रहँदा गरिएको भाकल पूरा गर्न भारत जान लागेका उनको भनाइ थियाे। कैंचीधाम र कामाख्या मन्दिर रोज्नुको कारणबारे सोधिएको प्रश्नमा उनले पहिलेदेखि नै ती धार्मिक स्थलमा जाने योजना रहेको बताए।
भ्रमणको क्रममा भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनले बताए। सभापति लामिछानेले भ्रमणमा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको स्पष्ट पारे।
आफ्नो व्यक्तिगत भ्रमणलाई राजनीतिक विषयसँग नजोड्न आग्रह गर्दै उनले यसलाई धार्मिक आस्था र पारिवारिक विश्वाससँग सम्बन्धित विषयको रूपमा लिनुपर्ने सुझाव दिए।





