२०८२ माघ ७, बुधबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुन २१ गते हुने निर्वाचनलाई बहाना बनाएर विकास निर्माण तथा सेवा प्रवाहका काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्।

कर्णाली प्रदेश सरकारअन्तर्गतका मन्त्रालयहरूको आजदेखि सुरु भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित कामकाज रोक्ने नभएकाले निर्वाचनका कारण विकास निर्माणका काम रोकिनु नहुने स्पष्ट पारे।

उनले भने, “हाम्रोमा बहाना खोज्ने प्रवृत्ति छ। निर्वाचन देखाएर विकासका काम रोकिनु हुँदैन।” मन्त्रालयअन्तर्गतका कामहरूको समयतालिका बने पनि सोअनुसार काम नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले कार्यालय प्रमुखलाई आफ्नो योग्यता, क्षमता र लगनशीलता परिणामसहित देखिने गरी काम गर्न निर्देशन दिए।

विकास निर्माण र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य नहुने उल्लेख गर्दै उनले जनताको अपेक्षाअनुसार कामबाटै उत्कृष्टता प्रदर्शन गर्नुपर्ने बताए। निर्वाचन आचारसंहिताले नयाँ काम सुरु गर्न रोक लगाए पनि वार्षिक नीति तथा कार्यक्रममा समावेश भई स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने उनले स्पष्ट गरे।

मुख्यमन्त्री कँडेलले स्वीकृत योजनाहरू समयमै सम्पन्न गर्न नसक्दा सरकारप्रतिको जनविश्वास कमजोर बन्ने उल्लेख गर्दै विकास आयोजनामा गुणस्तर, समयसीमा र पारदर्शितामा कुनै सम्झौता नगर्न निर्देशन दिए। साथै, समन्वय र अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताए। समयमै खर्च र लक्ष्यअनुसार प्रगति हासिल गर्न मन्त्रालय तथा मातहतका कार्यालयबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको आधार भएको उल्लेख गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।

कार्यक्रममा प्रमुख सचिव वीरेन्द्र कुमार यादव, अर्थ सचिव, ऊर्जा सचिव तथा मन्त्रालयअन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।