सुर्खेत । बैंकिङ कसुर मुद्धामा दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रीताकुमारी शाही पक्राउ परेकी छन्। अध्यक्ष शाहीलाई पक्राउका लागि केही समयअघि पक्राउ पुर्जी जारी भएको थियो।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष शाही प्रहरी कार्यालयमा आफै उपस्थिति भएको जानकारी दिए।
‘केही समयअघि उहाँमाथि पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी गरिरहेको थियो’, प्रहरी निरीक्षक रोकायाले भने, ‘उहाँ आफै बैशाख २४ गते बेलुका प्रहरी कार्यालयमा आफै उपस्थिति हुनुभएको हो।’
प्रहरीका अनुसार शाहीमाथि बैंकिङ कसुर सम्बन्धि आरोप छ। अध्यक्ष शाहीले एक जना स्थानीयलाई दिएको ५ लाख बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा परेको थियो।
यस्तै, २४ गते देखि लागु हुनेगरी २५ गते अदालतबाट म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रोयाकाले जानकारी दिए।
शाही २४ गते बेलुका कार्यालय समयपछि प्रहरीमा हाजिर भएपछि बैशाख २५ गते ४ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।
शाही २०७९ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट भैरवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी थिइन्।





