२०८३ आश्विन २३, शुक्रबार

सुर्खेत। कर्णाली प्रदेश सरकारले हुम्लाको नाम्खा गाउँपालिकालाई चीनको बुलाङ काउन्टीसँग भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ।

शुक्रबार बसेकाे प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नाम्खा गाउँपालिकालाई चीनको बुलाङ काउन्टीसँग भगिनी सम्बन्ध कायम गर्न आवश्यक पूर्वस्वीकृतिका लागि सिफारिस गर्ने निर्णय गरेकाे हाे।

नाम्खा गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले आवश्यक कागजातसहित भगिनी सम्बन्ध कायम गर्न सहमति र सिफारिस गरिदिन प्रदेश सरकारलाई पत्राचार गरेको थियो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (घ) मा स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्वस्वीकृति लिएर विदेशका स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्न सक्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार प्रदेश सरकारले निर्णय गरेर नेपाल सरकारसमक्ष सिफारिस गरेकाे हाे।

भगिनी सम्बन्ध कायम भएमा दुई देशबीच आपसी सहयोग, अनुभव आदानप्रदान तथा स्थानीय विकासका क्षेत्रमा सहकार्यका लागि आधार बन्ने छ।

यस्तै बैठकले कर्णाली प्रदेश राइड शेयरिङ तथा सेल्फ ड्राइभ नियमावली २०८३ स्वीकृत गर्ने र तातोपानी ४ जुम्लाका डा‍. भीमबहादुर खत्रीलाई  कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय भएकाे सरकारकी प्रवक्ता एवम् उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले जानकारी दिइन्।