आईसीसी क्रिकेट विश्वकप लिग-२

२०८३ कार्तिक ३, सोमबार

काठमाडौं। बलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्थान पक्का गरेको छ।

सोमबार अल अमेरत ग्राउन्ड टर्फ १ मा भएको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको हो। नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।

ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८९ तथा हम्माद मिर्जाले ८७ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन। ओमानले ३२ रनमा पहिलो विकेट गुमाएपछि यी दुई मिलेर दोस्रो विकेटका लागि १५८ रनको साझेदारी गरेका थिए।

१९० रनमा दोस्रो विकेट प्राप्त गरेपछि नेपालले त्यसको १३ रनपछि अर्को विकेट पनि प्राप्त गर्‍यो। २०३-३, २०६-४ हुँदै कप्तान विनायक शुक्ला आउट हुँदा ओमान २२४-५ को अवस्थामा पुगेको थियो। त्यसपछि सन्जु सजिव रनआउट भएपछि ओमान २३२-६ को अवस्थामा पुग्यो।

त्यहाँबाट हस्नैन शाहले बाउन्ड्रीहरू प्रहार गर्दै ओमानलाई खेलम जीवितै राखेका थिए। उनी २३ बलमा ४० रनमा अविजित रहेपनि जित दिलाउन सकेनन्।

अन्तिम ओभरमा २३ रन आवश्यक हुँदा दीपेन्द्रसिंह ऐरी बलिङमा आएका थिए। पहिलो बलमा हस्नेनले २ रन जोडे भने त्यसपछि लगातार २ चौका हानेपछि ३ बलमा १३ रन आवश्यक भयो। त्यसपछि २ रन जोडेर २ बलमा ११ रन आवश्यक हुँदा दीपेन्द्रले डट बल फाले। अन्तिम बलमा पनि हस्नेनले रन लिएनन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा ५० ओभरमा अलआउट हुँदै २८० रन बनायो।

रोहितले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाए। दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन बनाए । ओपनिङ गरेका देवले ६५ बलमा ४ चौका र १ छक्कासअित ५७ रन बनाए।

९९ रनमा ३ विकेट गुमेको अवस्थामा रोहित र दीपेन्द्र मिलेर १३९ रनको साझेदारी गरेका थिए। त्यसपछि नेपाल २३८-३ को अवस्थाबाट २८० रनमा अलआउट भएको हो।

नेपालको फिनिसिङ सोचेजस्तो बलियो भने हुन सकेन। यद्यपी अन्त्यतिर बसिर अहमदले ७ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए।

ओमानका लागि शाह फेसलले ८ ओभरमा ५७ रन दिएर ५ विकेट लिए। जय ओडेराले ३ तथा समय श्रीवास्तवले २ विकेट लिए।

लिग २ को अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो।

सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल त्यसपछि शनिबार क्यानडासँग पराजित भएको थियो।

नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंकका साथ छैटौंमा उक्लँदा ३५ खेलमा २८ अंक भएको नेपाल सातौंमा झरेको थियो। अब नेपालले ओमानलाई हराएर ३६ खेलमा ३० अंकका साथ फेरि छैटौं स्थानमा उक्लिएको छ।

लिग २ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना भएकाले शीर्ष ६ मा अटाउने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको थियो।