Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
प्रहरी चौकी निर्माणको विषयलाई लिएर हुम्ला र बाजुराका स्थानीयबीच विवाद - oasiskhabar

२०८३ जेष्ठ ६, बुधबार

सुर्खेत। प्रहरी चौकी निर्माणको विषयलाई लिएर हुम्ला र बाजुराका स्थानीयहरुबीच विवाद भएको छ। सूदुरपश्चिम प्रदेशको बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ लाम्पाटा र कर्णाली प्रदेशको हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२ का स्थानीयबीच विवाद भएको हो।

बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण र सीमाको विषयलाई लिएर दुई जिल्लाका नागरिकहरु विगत एक हप्तादेखि प्रतिकारमा उत्रिएका छन्।

लामो समयदेखि स्थानीयले भोगचलन गर्दै आएको जग्गामा प्रहरी चौकी निर्माण गर्नका लागि प्रक्रिया अगाडी बढाएपछि हुम्लाका स्थानीयहरुले विरोध जनाएका खार्नुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए।

‘बाजुरा र हुम्ला जिल्लाको सिमानालाई कुवाडी खोलाले छुट्टाएको भन्ने छ। तर, बाजुराको हिमाली गाउँपालिकाको भूभागमा नभएर खार्पुनाथ गाउँपालिकाको भूभागमा प्रहरीको भवन बनाउँन खोज्दा विवाद भएको हो।’ अध्यक्ष रावलले भने।

त्यहाँका स्थानीयहरुले ‘प्रहरी चौकी बनाउने भए हाम्रो सरकारले बनाउँछ, बाजुराले हाम्रो भूभागमा बनाउँन पाइदैन्’ भन्दै विरोध जनाएका गाउँपालिका अध्यक्ष रावलको भनाइ छ। प्रहरीको भवन निर्माणकाका लागि जग खनिसकेपछि हुम्लातर्फका स्थानीयहरु सम्बन्धित क्षेत्रमा पुगेर अवरोध गरेपछि निर्माण प्रक्रिया रोकिएको उनले बताए।

उनले भने, ‘स्थानीयहरुले विगतदेखिनै भोगचलन गर्दै आएको ठाउँमा यस्तो कार्य किन गरेको भन्दै प्रतिवाद गरेपछि काम रोकिएको छ।’

यस्तै, सोही विषयलाई लिएर मंगलबार दिउँसो पुन स्थानीयहरुबीच विवाद भएको छ। विवादहुँदा हिमाली गाउँपालिका–३ का पाँच स्थानीय घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले विवादपछि झडप हुँदा हिमाली गाउँपालिका–३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुँवर घाइते भएको जानकारी दिए।

उनका अनुसार हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी समेत समान्य घाइते हुन पुगेका थिए।

प्रहरी चौकीको भवन निर्माण र सिमा विवादको विषय पहिलादेखि उठ्दै आएकोमा मंगलबार थप विवाद भएको हो। उक्त विवादपछि झडप भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

उक्त विवाद हिमाली गाउँपालिका अध्यक्षसहित कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालसहितको टोली ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियान लियर सैपाल हिमालको बेस क्याम्प जान लाग्दा भएको थियो।

सैपाल हिमालको बेस क्याम्प जानका लागि उनिहरु प्रहरीको अस्थायी कार्यालय बनाउन लागेको स्थान लाम्पाटा, च्याचौर र रानीसैन भएर जादै थिए। सोही क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँका स्थानीय आक्रोशित बनेर सबैलाई लखटेका थिए।

सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा प्रहरी चौकी भवन निर्माण गर्न ४० लाख रुपैयाँ बजेट छुट्याएको थियो। तर हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले उक्त क्षेत्रमा विगतदेखि भोगचलन गर्दै आएको भन्दै चौकी निर्माण गर्न नदिने अडान लिदै आएका छन्।

यस्तै, सिमा र प्रहरीको भवन निर्माणका विषयमा विवाद हुँदा हुम्ला र बाजुरा जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्यहरुले गृह मन्त्रालयमा पुगेर समस्या राखिसकेका छन्।
सोमबार गृह मन्त्रालयमा हुम्लाका प्रतिनिधिसभा सदस्य जयपति रोकाया, बाजुराका प्रतिनिधिसभा सदस्य जनकराज गिरी र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठबीच छलफल भएको छ।

उक्त छलफलबाट हुम्ला र बाजुरा जिल्लाको सीमावर्ती क्षेत्र लाम्पाटा–च्याचौरमा देखिएको सीमा तथा परम्परागत उपयोग सम्बन्धी विवाद समाधान नहुँदासम्म निर्माणाधीन प्रहरी चौकीको काम रोक्ने सहमति भएको सांसद रोकायाले जानकारी दिए।

उनका अनुसार दुवै पक्षबीच दीर्घकालीन समाधानका लागि तथ्य, इतिहास, भोगचलन र स्थानीय सहमतिका आधारमा प्रक्रिया अघि बढाउने समझदारी भएको छ।

बाजुरा र हुम्लाबीच लाम्पाटा, च्याचौर र रानीसैन क्षेत्रलाई लिएर परम्परागत चरनभूमि तथा सामुदायिक वन उपयोग सम्बन्धी विवाद देखिँदै आएको छ। हुम्लाका स्थानीयले दशकौँदेखि उक्त क्षेत्रमा चौरी–गाई पालन, चरिचरन तथा वन संरक्षण गर्दै आएको भन्दै आफ्नो परम्परागत अधिकार रहेको दाबी गर्दै आएका छन्।