काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले विश्वव्यापी आपूर्ति प्रणालीले युद्धका सामग्री सहज रूपमा पुर्याउन सके पनि गरिब मुलुकका किसानका लागि मल, इन्धनजस्ता आधारभूत वस्तु समयमै उपलब्ध गराउन नसकेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विश्वव्यवस्थामा देखिएको असमानता औँल्याउँदै युद्धका लागि हतियार र गोलाबारुद सीमापार सहज रूपमा पुग्ने तर किसानले आवश्यक समयमा मलसमेत नपाउने अवस्था रहेको बताए।
उनले नेपालमा किसानले बाली लगाउने समयमा मल नपाउने, नयाँ सडक निर्माणका लागि आवश्यक बिटुमिन उपलब्ध नहुने तथा परिवारले साँझको खाना पकाउन आवश्यक इन्धनको अभाव झेल्नुपर्ने अवस्था रहेको उल्लेख गरे।
‘हामीले युद्धका लागि निर्दोष ढुवानी प्रणाली र खाद्यान्नका लागि भत्किएको ढुवानी प्रणाली भएको विश्व बनाएका छौँ,’ प्रधानमन्त्री शाहले भने।
उनले जलवायु परिवर्तन र विश्वका विभिन्न क्षेत्रमा भइरहेका युद्धको दोहोरो असर गरिब तथा विकासोन्मुख मुलुकहरूले भोगिरहेको बताए । बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकालगायत क्षेत्रका मुलुकहरूले पनि आफूले नबढाएको जलवायु संकट र आफूले सुरु नगरेका युद्धको असर भोगिरहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले विश्वव्यापी आर्थिक व्यवस्था अझ न्यायपूर्ण हुनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघको उद्देश्य सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानुन र प्रत्येक मानिसको सम्मान सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै उनले वर्तमान अन्तर्राष्ट्रिय प्रणाली दबाबमा रहेको बताए।
उनले साना तथा गरिब मुलुकहरूको आवाज अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सुनिनुपर्ने बताए। बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता कायमै रहेको उल्लेख गर्दै उनले न्यायपूर्ण परिणामका लागि संयुक्त राष्ट्रसंघलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे।





