वीरेन्द्रनगर। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले मानसिक स्वास्थ्य सचेतना महिना–२०८३ तथा डेंगी सचेतना अभियान–२०८३ लाई प्रभावकारी बनाउन सरोकारवाला निकाय र सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ।
श्रावण महिनाभर मानसिक स्वास्थ्य सचेतना महिना तथा श्रावणदेखि असोजसम्म सञ्चालन हुने डेंगी सचेतना अभियानलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको हो।
अन्तरक्रियामा मानसिक स्वास्थ्यको वर्तमान अवस्था, चुनौती, रोकथाम तथा व्यवस्थापनका उपायसँगै डेंगी रोगको अवस्था, नियन्त्रण र रोकथामका विषयमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका महामारी फोकल पर्सन उदय बिसीले विस्तृत प्रस्तुतीकरण गरेका थिए।
अन्तरक्रियामा मानसिक स्वास्थ्य भन्नाले मानसिक रोग नहुनु मात्र नभई व्यक्तिको मनोवैज्ञानिक, भावनात्मक र सामाजिक रूपमा स्वस्थ रहन सक्ने अवस्था भएको उल्लेख गरिएको थियो।
स्वस्थ मानसिक अवस्थाले व्यक्तिलाई दैनिक जीवनका चुनौती सामना गर्न, आफ्नो क्षमता पहिचान गर्न, उत्पादनशील रूपमा काम गर्न र समाजमा सकारात्मक योगदान दिन सक्षम बनाउने बताइएको छ।
कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार विश्वका प्रत्येक पाँच जनामध्ये एक जना कुनै न कुनै मानसिक समस्याबाट प्रभावित छन् भने नेपालमा करिब २५ प्रतिशत मानिसले जीवनको कुनै चरणमा मनोसामाजिक समस्या भोग्ने गरेकाे बिसीले बताए।
अनका अनुसार गरिबी, बेरोजगारी, वैदेशिक रोजगारीका कारण हुने पारिवारिक विखण्डन, प्राकृतिक विपद् तथा लागुऔषध दुव्र्यसन मानसिक स्वास्थ्य समस्या बढ्नुका प्रमुख कारणहरु रहेका छन्।
यस्तै, डेंगी सचेतना अभियान–२०८३ लाई प्रभावकारी बनाउन जमेको सफा पानीमा प्रजनन गर्ने लामखुट्टे नियन्त्रण गर्न घर, कार्यालय तथा सार्वजनिक स्थानमा पानी जम्न नदिने, ट्याङ्की, बाल्टिन, गमला, टायर तथा अन्य पानी जम्ने भाँडाहरू नियमित सफा गर्ने र ‘सर्च एन्ड डिस्ट्रोय’ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।
सुर्खेतमा डेंगी नियन्त्रणका लागि सरकारी तथा निजी स्वास्थ्य संस्थासँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम, आवश्यक परीक्षण सामग्री उपलब्ध गराउनुका साथै वडा तहसम्म जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरेर लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सञ्चालन भइरहेकाे जनस्वाथ्य सेवा कार्यालय सुर्खेतका सूचना अधिकारी दयाराम पंगालीले जानकारी दिए।
जनस्वास्थ्य सेवा कार्यालय प्रमुख करुणा भट्टराईले मानसिक स्वास्थ्य र डेंगी दुवै जनस्वास्थ्यका गम्भीर चुनौतीका रूपमा देखिएकाले स्थानीय तह, सञ्चारमाध्यम, स्वास्थ्य संस्था र समुदायबीच समन्वयात्मक प्रयास आवश्यक रहेको उल्लेख गरिन्।

उनले सामाजिक लाञ्छना, चेतनाको कमी, विशेषज्ञ जनशक्तिको अभाव र सीमित स्रोत–साधनका कारण धेरै नागरिक उपचारको पहुँचबाट बाहिर रहेको बताइन्।
यस्तै, अन्तरक्रियामा सहभागी सरोकारवालाले मानसिक स्वास्थ्यसम्बन्धी भ्रम र सामाजिक लाञ्छना अन्त्य गर्दै समयमै परामर्श र उपचारमा पहुँच बढाउनुपर्नेमा जोड दिएका छन्।
साथै डेंगी नियन्त्रण सरकार वा स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभई सबै नागरिकको साझा दायित्व भएकाले अभियानलाई सफल बनाउन समुदाय, स्थानीय तह, सञ्चारमाध्यम र सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ।





