सुर्खेत। सुर्खेतमा भएको सवारी दुर्घटनामा घाइते भएका पत्रकार भाैतिक मल्लले आफ्नो सहमतिबिनै दुर्घटनामा संलग्न गाडी छोडिएको आरोप लगाएका छन। उनले ट्राफिक प्रहरीसँग त्यसरी छाड्नुको कारणसहित जवाफ मागेका छन्।
पीडित मल्लका अनुसार गत शुक्रबार दशरथपुर र खोल्टेपानीको मोडमा कर्णाली प्रदेश ०२–००१ ज ०६५९ नम्बरको विद्युतीय सवारीसाधन (ईभी)ले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट बेहोस भएका उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल हुँदै नेपालगञ्जस्थित न्युरो अस्पताल भर्ना गरियो।
उपचार तथा जाँच गराएर फर्किएपछि भोलिपल्ट बिहान उनी आफैँ छलफलका लागि जिल्ला ट्राफिक कार्यालय सुर्खेत पुगेको बताउँछन्। तर, छलफलका क्रममा अनावश्यक व्यक्तिहरू ल्याएर आफूलाई मानसिक तनाव दिने प्रयास गरिएको उनको आरोप छ।
पीडितले दुर्घटनामा संलग्न गाडीका चालक र मालिकबिना छलफल गर्नुको औचित्य नभएको भन्दै छलफलकै बीचबाट बाहिरिएको जानकारी सामाजिक सञ्जालमा दिएका छन्। उनका अनुसार त्यसपछि ट्राफिक कार्यालय सुर्खेतले आफ्नो सहमतिबिनै दुर्घटनामा संलग्न गाडी छोडिसकेको जानकारी पाइएको हो।
घटनाप्रति असन्तुष्टि जनाउँदै उनले पीडितको कुरा नसुनी गाडी छोड्ने आधार के हो? आफ्नो सहमतिबिना कुन कानुनी आधारमा गाडी छोडियो? र भविष्यमा थप समस्या उत्पन्न भए त्यसको जिम्मेवारी कसले लिने? भन्ने प्रश्न उठाएका छन्।
उनले ट्राफिक कार्यालय सुर्खेतसँग घटनाबारे स्पष्ट जवाफ दिन माग गरेका छन्। आफ्नो असन्तुष्टि व्यक्त गर्दै लेखेका छन्, ‘मलाई आश्वासन होइन, जवाफ चाहिएको छ। सहानुभूति होइन, न्याय चाहिएको छ।’





