वीरेन्द्रनगर। सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस रोग केन्द्रित स्वास्थ्य शिविर तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य सेवा कार्यालय सल्यान र जिल्ला द्रुत प्रतिकार्य टोलीको आयोजनामा दार्मा गाउँपालिका–५, ढाकाडाममा शिविर सञ्चालन गरिएको हो। जिल्ला द्रुत प्रतिकार्य टोलीका संयोजक तथा जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालको नेतृत्वमा जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र दार्मा गाउँपालिकाका स्वास्थ्यकर्मीको टोलीले शिविर सञ्चालन गरेको थियो।
शिविरमा २४५ जनाले स्वास्थ्य सेवा लिएका थिए। तीमध्ये १८१ जनाको प्रयोगशाला परीक्षण गरिएकोमा १७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
कार्यक्रममा स्क्रब टाइफसबाट बच्ने उपाय, रोगका लक्षण, उपचार तथा स्वास्थ्यमा अपनाउनुपर्ने सावधानीबारे स्थानीयलाई जानकारी गराइएको थियो। साथै रोगको जोखिम, पहिचान र समयमै उपचारका विषयमा अभिमुखीकरण तथा सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
स्वास्थ्यकर्मीले स्क्रब टाइफसका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन स्थानीयलाई आग्रह गरेका छन्।





