सुर्खेत। सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप देखिएको छ। जसको प्रकोपबाट गाउँपालिकाका वडा नम्बर १, ५ र ६ बढी प्रभावित भएका छन्।
उक्त रोगका कारण हालसम्म सात जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तार प्रसाद रिजालसहित चिकित्सक र स्वास्थ्यकर्र्मीको टोली प्रभावित क्षेत्रमा खटिए पनि प्रकोप बढीरहेको छ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार प्रकोप नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ भने वडा नम्बर १ मा स्थानीयको रगत परीक्षण गरिएको छ।
स्क्रब टाइफस परीक्षणका लागि प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट २ सय र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट २५० गरी हालसम्म ४५० वटा किट दार्मा कर्णाली सरकारले जनाएको छ।

प्रकोपको अवस्था हेर्दा तत्कालका लागि एक हजार थप परीक्षण किट आवश्यक रहेको सरकारको भनाइ छ।
कर्णााली प्रदेश सरकारले पनि परीक्षण किट, औषधि र थप स्वास्थ्यकर्र्मी पठाउने तयारी गरेको छ।
मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार बिहानसम्म प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप एक हजार किट, आवश्यक औषधि तथा चिकित्सकसहितको जनशक्ति पठाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री शाहीले प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो स्वास्थ्य शिविर सञ्चालन गरी आवश्यक परीक्षण, उपचार तथा रोकथामका कार्यक्रम प्रभावकारी गर्न निर्देशन दिएका छन्।
यस्तै, सल्यानको कालीमाटी गाउँपालिका, कुमाख गाउँपालिका र बागचौर नगरपालिकाले पनि स्क्रब टाइफस परीक्षण किटको माग गरेका छन्। प्रदेश सरकारले जिल्लाका जोखिमयुक्त क्षेत्रमा परीक्षण तथा निगरानी बढाउने तयारी गरेको छ।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले स्वास्थ्य सेवा कार्यालय सल्यानले माग गरेको स्क्रब टाइफससँगै डेगु परीक्षण किट क्सिसाइक्लिन, एजिथ्रोमाइसिन, पारासिटामोललगायत आवश्यक औषधि तथा तथा किटहरु बुधबार बिहान सल्यान पठाउन लागिएको जानकारी दिए।





