वीरेन्द्रनगर। उच्च अदालत सुर्खेतले जबरजस्ती करणीका मुद्दाहरु बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ।
‘उच्च अदालत सुर्खेत तथा मातहतका जिल्ला अदालतहरुको आव०८२/०८३ मा भए गरेका काम कारवाहीहरुको वार्षिक प्रगति विवरण वीरेन्द्रनगरमा सार्वजनिक गर्दै उक्त अदालतले जबरजस्ती करणीका मुद्दाको संख्या सबैभन्दा बढी रहेको बताएको हो।

अदालतका मुख्य न्यायधीश हरिप्रसाद भण्डारीले आव ०८२/०८३ मा कुल ९१५ मध्ये १६९ अर्थात् १८ दशमलव ४६ प्रतिशत मुद्दा जबरजस्ती करणीका रहेको बताए।
त्यस्तै, लागु औषधका १२०, रीट ७९, ज्यान मार्ने उद्योग ७७ कर्तव्य ज्यान ६२, सवारी ज्यान ३५, जबरजस्ती करणी उद्योग २६, अंशबण्डा २५ र अन्य प्रकृतिका देवानी तथा फौंजदारी मुद्दा ३२२ छन्।
यसरी जबरजस्ती करणीका मुद्दा बढ्नुमा विकसित सामाजिक परिवेश र त्यसले पारेको नकरात्मक प्रभाव नै रहेको उल्लेख गर्दै मुख्य न्यायधीश भण्डारीले कुल मुद्दामा ७५५ फछ्र्यौट र १६० बाँकी रहेको बताए।
उनकाअनुसार तीन आर्थिक वर्षमा मुद्दाको लगत तुलना गर्दा पछिल्लो समयमा वृद्धि हुँदै गएको छ।
आव ०८०/०८१, ०८१/०८२ र ०८२/०८३ सम्मको तीन वर्षको अवधिमा जाजरकोट जिल्ला अदालतमा क्रमशः ३४२, ४११, ४१९, दैलेख जिल्ला अदालतमा ४६२, ५३३ र ५४४, रुकुमपश्चिम जिल्ला अदालतमा ६२०, ६७९ र ७८१, सल्यान जिल्ला अदालतमा ७२४, ७३१ र ८०९, सुर्खेत जिल्ला अदालतमा दुई अजार ७१६, दुई हजार ९१२ र तीन हजार १४६ मुद्दा संख्या रहेको छ ।
उच्च अदालत सुर्खेतमा भने ।०८०/०८१ मा ९१६, ०८१/०८२ मा ८३२ र ०८२/०८३ मा ९१५ मुद्दा संख्या रहेको छ।
आव ०८२/०८३ को कार्य प्रगतिलाई हेर्दा उच्च अदालत सुर्खेतले ८२ दशमलव ५, जाजरकोटले ८९ दशमलव ४, दैलेखले ७९ दशमलव ८, रुकुमपश्चिमले ७१ दशमलव २, सल्यानले ७३ दशमलव ४ र सुर्खेत जिल्ला अदालतले ६३ दशमलव २ प्रतिशत मुद्दा फछ्र्यौट गर्न सफल भएको उच्च अदालत सुर्खेतका निमित्त रजिष्ट्रार प्रेमप्रकाश थापाले बताए।





