सुर्खेत। आवाज संस्था सुर्खेत र टीडीएच/मिसेरिओर/केजेटईको संयुक्त साझेदारीमा सञ्चालित “नेपालको पश्चिम क्षेत्रमा महिला तथा बालबालिका, विशेषगरी किशोरीहरूलाई आफ्ना अधिकार सुनिश्चित गर्न तथा सेवाहरूमा पहुँच प्राप्त गर्न सशक्त बनाउने परियोजना” अन्तर्गत पञ्चपुरी नगरपालिका-३, तोक्मामा सरसफाइ अभियान सम्पन्न भएको छ।
आवाज संस्थाद्वारा गठित त्रिवेणी युवा समूहको आयोजनामा तथा पञ्चपुरी नगरपालिका वडा नम्बर ३ को कार्यालयको समन्वय र सहकार्यमा शनिबार बिहान ८ बजेदेखि सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत दोविलादेखि शान्ति बजार चोकसम्म सरसफाइ गरिएको थियो।
कार्यक्रममा सरसफाइको महत्त्व, यसका फाइदा तथा फोहोरमैला व्यवस्थापनमा बेवास्ता गर्दा देखिने नकारात्मक असरबारे अन्तरक्रियासमेत गरिएको थियो।
त्रिवेणी युवा समूहका अध्यक्ष कमलप्रसाद कँडेलको अध्यक्षतामा तथा पञ्चपुरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बलबहादुर रोकायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा त्रिवेणी युवा समूह, नमुना बाल समूहका सदस्य, जनप्रतिनिधि, प्रहरी तथा बुद्धिजीवीसहित करिब ८० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा त्रिवेणी युवा समूहका अध्यक्ष कमलप्रसाद कँडेलले सरसफाइ स्वस्थ जीवन, स्वच्छ वातावरण र सभ्य समाज निर्माणको आधार भएको उल्लेख गर्दै घर, टोल, बजार तथा सार्वजनिक स्थान सफा राख्नु सबै नागरिकको साझा जिम्मेवारी भएकाे बताए।
उनले जथाभावी फोहोर फाल्दा वातावरण प्रदूषित हुने, दुर्गन्ध फैलिने र विभिन्न रोगको जोखिम बढ्ने भएकाले सरसफाइलाई एक दिनको अभियानमा मात्र सीमित नगरी नियमित अभ्यासका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

युवा तथा बालबालिकालाई सामाजिक काममा सक्रिय बनाउँदै सार्वजनिक स्थानमा फोहोर नगर्न सचेतना फैलाउने, फोहोरको उचित व्यवस्थापन गर्न प्रेरित गर्ने र आगामी दिनमा पनि समुदायसँगको सहकार्यमा सरसफाइ अभियानलाई निरन्तरता दिने समूहकोयोजना रहेको उनले बताए।
त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष बलबहादुर रोकायले समाजको विकास भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नभई स्वच्छ वातावरण, स्वस्थ नागरिक र जिम्मेवार समुदाय निर्माणसँग पनि जोडिएको बताए।

युवाहरूले नेतृत्व लिएर सार्वजनिक स्थानको सरसफाइमा देखाएको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले स्थानीय नागरिकमा सामाजिक जिम्मेवारी, वातावरण संरक्षण र सार्वजनिक सम्पत्तिप्रतिको अपनत्वको भावना विकास गर्न सहयोग पुर्याउने धारणा व्यक्त गरे।
उनले महिला, बालबालिका तथा विशेषगरी किशोरीहरूको अधिकार सुनिश्चित गर्न र समुदायमा सकारात्मक परिवर्तन ल्याउन आवाज संस्थाले सञ्चालन गरिरहेका कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्दै यस्ता अभियानलाई निरन्तरता दिन वडा कार्यालयको समन्वय र सहकार्य महत्त्वपूर्ण रहने बताए।
अभियानमा सहभागीहरूले सार्वजनिक स्थान सफा राख्ने, फोहोरमैला जथाभावी नफाल्ने र आफ्नो घर तथा समुदायको वातावरण स्वच्छ राख्ने प्रतिबद्धतासहित सामूहिक सहभागिताको सन्देश दिएका थिए।
कार्यक्रमले युवा तथा बालबालिकाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समुदायमा स्वच्छतासम्बन्धी चेतना अभिवृद्धि गर्न सहयोग पुर्याएको आवाज संस्थाका सामाजिक परिचालक तेजबहादुर रोकायले जानकारी दिए।





