२०८२ कार्तिक २४, सोमबार

काठमाडौँ । एमालेका सरोजकुमार यादव ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको शनिबार २५ दिनमै पदबाट राजीनामा दिएका थिए।

सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।

मधेसको मुख्यमन्त्री नियुक्त भएलगत्तै सरोजकुमार यादवले अन्य तीन मन्त्री नियुक्त गरेका छन्। एमाले, संघीय समाजवादी र राप्रपाबाट यादवले एक–एकजना मन्त्री नियुक्त गरेका छन्।

नवनियुक्त मन्त्रीलाई पनि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासको पानस होटलमै शपथ गराएकी छन्।

मधेस प्रदेश सभामा संघीय समाजवादी र राप्रपाको एक–एक जना सांसद छन्। नवयिनुक्त मन्त्रीहरूलाई मन्त्रालय भने नतोकिएको एमाले सांसद शारदा थापाले जानकारी दिइन्।

एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका हुन्।

कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्रसहितका दलको बिरोधका बाबजुध प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा आज बिहान हतारहतार एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।