सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ। सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृति लिने गरेका छन्।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन्। जसअन्तर्गत सबैभन्दा धेरै सल्यानबाट छ हजार ९६७ पुरुष र ६२० महिला गरी सात हजार ७ हजार ५८७ जनाले श्रम स्वीकृति लिएका छन्।
त्यसैगरी, सुर्खेतका पाँच हजार ८९ पुरुष र ५६८ महिलासहित छ हजार ३८७ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क छ। दैलेखका तीन हजार ९६५ पुरुष र ३२३ महिला गरी चार हजार २८८, रुकुमपश्चिमका दुई हजार ८५९, जाजरकोटका दुई हजार ५१८, कालिकोटका एक हजार २५, जुम्लाका एक हजार २५५ जनाले श्रम स्वीकृति लिएका छन्। मुगुका ६८६, हुम्लाका ६०८ र डोल्पाका ६८८ जनाले श्रम स्वीकृति लिएको पाइएको छ।
श्रम अधिकृत ध्रुव देवकोटाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन गाउँगाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए।
सुरक्षित आप्रवासन कार्यक्रमका प्रदेश व्यवस्थापक कमलबहादुर रोकायले वैदेशिक रोजगारीमा गएका कर्णालीका हालसम्म २६४ जनाको मृत्यु भएको जानकारी दिँदै वैधानिक र कानुनी प्रक्रियाबाट मात्र वैदेशिक रोजगारीमा जानुपर्ने सुझाव दिए।
उनले पछिल्लो समय अवैधानिक बाटो भएर वैदेशिक रोजगारीमा जाने तथा विभिन्न प्रलोभनमा परेर ठगीका घटना बढिरहेको भन्दै सबै पक्षले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

